आन्दोलन रचनात्मक कहिले हुने ?

  • दिक्षा कट्टेल

काठमाडौँ । आफ्ना माग पूरा गराउने नाममा हुने थरिथरिका आन्दोलन र बन्द हड्तालले सबैलाई हैरान बनाइरहेको छ ।  पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमपछि यो क्रम अझ बढ्ने त्रासले आम नागरिकलाई त्राहिमाम बनाएको छ यो बेला ।

लोकतन्त्रमा नागरिकसँग बोल्ने, मन परेका कुराको समर्थन गर्ने र मन नपरेका कुराको विरोध गर्ने अधिकार रहन्छ नै । तर, सँगै आफ्नो आन्दोलन वा विरोधले अर्को नागरिकको नैसर्गिक अधिकार पनि हनन भइरहेको त छैन ? भनेर हेरिन्छ । साथै आन्दोलनलाई रचनात्मक बनाएर धेरैभन्दा धेरैको ध्यान खिच्ने प्रयत्न गरिन्छ । तर, हाम्रोमा भने सधैं उही पुरातन पाराको बन्द, चक्काजाम, टायर बाल्ने, गरिखाने वर्गको बिजोक बनाउने बाहेकका गतिविधि देख्नै पाइँदैन ।

त्यसो त मनोरञ्जन क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । कोभिड कहरका कारण बन्द भएका चलचित्र हल खुलेपनि प्रदर्शन गर्ने चलचित्र छैनन् । लगानी नउठ्ने स्थिति देखेपछि निर्माता प्रदर्शनको मिति सार्दैछन् । हलमा पुगेका चलचित्रसमेत चलेका छैनन् । एक हिसाबले यो क्षेत्र ठप्प जस्तै छ । यस्तो बेलामा राजनीतिक आन्दोलन र बन्द हड्तालले यो क्षेत्रलाई थप आहत पुर्याउने जोखिम बढेकाले कलाकारहरु दुःखी र सशंकित देखिन्छन् ।

०००
कलाकार उषा रजक बन्दलगायत थरिथरिका आन्दोलनले दिक्क छिन् । कति पटक त जाममा फस्दा गाडीको धुँवाले बिरामी पारेको स्मरण गर्दै उषा आन्दोलन, बन्द, जामलगायतले एकातिर दैनिकीमा बाधा पार्ने र नि अर्कोतिर मानसिक तनाब दिने बताउँछिन् ।

एक तरिकाले चलिरहेको जिन्दगीको तालिका दिनदिनै हुने बन्द र हड्तालले भद्रगोल हुने र तालिका बनाएर गरिने काम बढी विथोलिनेर यसले मानिसक रुपमा पनि हैरानी थप्ने उनको भोगाई छ ।

बन्द, हड्ताल तोडफोडलगायतले आम नागरिकमा राजनीतिप्रति वितृष्णा सिर्जना गर्नेतर्फ आयोजकहरु सचेत नभएको उषा बताउँछिन् । राजनीतिक आफैँमा फोहोरी खेल नभएको मान्ने उषाको तर्क गर्छिन्, ‘राजनीतिलाई यस्तै गतिविधिले दूषित बनाइएको छ, आन्दोलनको तरिका हामी बच्चा हुँदादेखि अहिलेसम्म उस्तै छ । यसको तरिका फेर्न जरुरी छ ।’

धेरै देशमा कलात्मक र रचनात्मक आन्दोलन हुने गरेपनि नेपालमा त्यसो हुन नसकेको उनको बुझाइ छ । जापानमा एक जुत्ता कम्पनीले आन्दोलन स्वरूप देब्रे खुट्टाको जुत्ता मात्रै उत्पादन गरेको र पछि समस्या सम्बोधन भएपश्चात् जोडी जुत्ता उत्पादन हुन थालेको उनले सुनाइन् ।

०००
अभिनेत्री सुरक्षा पन्तसँग भने वर्तमान राजनीतिक परिदृश्यप्रतिको बुझाइ अलि फरक छ । उनी आन्दोलनमा कलाको हात महत्वपूर्ण हुने औंल्याउँछिन् । भन्छिन्, ‘जस्तो अवस्थामा पनि सामाग्री उत्पादन हुने क्षेत्र भएकाले कला र मनोरञ्जन, क्षेत्रले परिस्थिति अनुसारका सामाग्री उत्पादन गर्न सक्छ । समाजको ऐना भएकाले पनि बन्द हड्तालले कला सिर्जनामा असर गर्दैन’ उनी भन्छिन् ‘तर, छायाकंनको व्यवस्थापनमा भर पर्छ ।’

जति जटिल परिस्थिति त्यति नै गहन विषयवस्तु उत्पादन हुनु यस क्षेत्रको विशेषता नै भएपनि आवतजावत साथै छायाकंनमा आवश्यक सामाग्री जुटाउने आर्थिक कारोबार लगायतमा भने प्रभाव पर्ने उनको भनाइ छ ।

अभिनेत्री पन्त आन्दोलनले भन्दा पनि कलाले आन्दोलनका स्वरुपहरुमा सकारात्मक प्रभाव परेको देख्छिन् । ‘बन्द कुनै हालतमा समाधान होइन । त्यसैले यसको निन्दा समग्र कला क्षेत्रले गर्छ’, पन्त भन्छिन्, ‘आन्दोलन भने समयानुसार आवश्यक हुन्छ ।’ कला पनि क्रान्तिको एक नमूना भएकाले आन्दोलनले कला क्षेत्रमाभन्दा पनि कलाले चैँ आन्दोलनको ढाँचाहरुमा प्रभाव पार्ने उनको बुझाइ छ । भन्छिन्, आन्दोलन गर्ने तरिकाहरूमा कलात्मक रूप प्रयोग भइरहेका छन्, यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ ।’

हिंसात्मक आन्दोलनलाई कलाले धेरै हदसम्म परिवर्तन गरेको र शान्तिपूर्ण र व्यवहारिक स्वरुपमा बदलेको उनको ठम्याइ छ । देशको परिवेशले कला क्षेत्रलाई असरभन्दा पनि कथा छनौटको लागि अझ प्रेरणा दिने भएकाले यो हिसाबले चाहिँ आन्दोलन सिर्जनात्मक परिधी ठूलो हुने समय हो भन्ने उनको भनाइ छ ।

०००
पारिवारिक पृष्ठभूमिमा रहेर बुनिएको वेब सिरिज ‘दिल चुप छ’ बनाइरहेका निर्देशक नवल नेपाललाई सडकमा हुने गरेका हुलहुज्जत फापेको छैन । यद्यपि, जस्तोसुकै परिस्थितिसँग पनि जुद्धै र आफूलाई सहज बनाउँदै निरन्तरता दिनुको विकल्प नभएको उनी बताउँछन् ।

थरिथरिका आन्दोलन तथा बन्द हड्तालले सिर्जित सडकको अस्तव्यस्तताले छायाकंनमा प्रभाव पार्ने गरेको छ । जसले गर्दा कलाकार र प्राविधिकलाई दिनको काम नै भए पनि बिहान सबेरै छायाकंन स्थल पुग्नु र पुर्याउनुपर्ने बाध्यता छ । दिक्दारलाग्दो समय व्यतीत गरिरहेका कलाकार र उनीहरुको अभिनय लगायत काममा पनि कहिलेकाहीँ देखिने नेपालको अनुभव छ ।
आफु सेटमा उपलब्ध भएका कलाकारलाई लिएर काम सुचारु गर्दै गर्ने र जसलाई अप्ठ्यारो परेको छ उसको समस्यासमेत बुझिदिने गरिरहेको बताउँछन् । आन्दोलन नभए सबैको लागि राम्रो ह्ने बताउने नेपाल आन्दोलन गर्न छुट्टै र निश्चित ठाउँ हुनुपर्ने बताउँछन् ।

०००
म्युजिक भिडियो निर्देशक सागरबाबु भट्टले पनि आफ्नो कार्यालय बन्दोबस्तको कामलाई निरन्तरता दिन सकिरहेका छैनन् । कारण उही दिनहुँजसो हुने सडक केन्द्रित आन्दोलन र अबरोध नै हो । अझ छायाकंनको समयमा हुने तनाव छुट्टै छ । ‘दिनदिनै समय सार्नुपर्छ, योजनाअनुसार चल्न सकिँदैन’, भट्टले समस्या सुनाए । उनी यस्तो समस्या कहिले समाधान होला भनेर दिन पर्खेर बसेको सुनाउँछन् ।

जम्माजम्मी १० मिनेट पनि नलाग्ने ठाउँमा भएको कार्यालय पुग्न आन्दोलनका बेला १ घण्टासम्म लाग्ने गरेको उनले सुनाए । यसले गर्दा योजना अनुसार काम गर्न नसकिने र तनाब थपिनाले काम गुणस्तरीय हुन नसक्ने उनको अनुभव छ ।

०००
पछिल्लो समय म्युजिक भिडियोमै व्यस्त मोडल यशराज गराचको समस्या पनि मिल्दोजुल्दो छ । यद्यपि मनोरञ्जन क्षेत्रलाई भन्दा पनि आमनागरिकलाई पछिल्लो राजनीतिक चलखेलले बढी प्रभाव पारेको उनी सम्झन्छन् ।

लामो समय बन्दाबन्दीको चपेटामा चेपिएका नेपालीलाई यस्तो आन्दोलन र बन्द हड्तालले थप दुःख दिनु सुझबुझपूर्ण नभएको गराच ठान्छन् । शुक्रबारको लागि तय भएको उनको छायाँकन ओली पक्षीय नेकपाको आमसभाले बिथोल्यो ।

०००
यता निर्माता तथा लेखक केदार भुसाल भने अब हुने भनिएको चुनावलाई लिएर चिन्तामा छन् । ‘कोरोनाले भर्खरै बौँरिन थालेको चलचित्र क्षेत्रमा पुनः चुनावले समस्या ल्याइदिने भो’, भुसालले भने ।

अहिले सडकमा देखिएको दृश्य चुनावको पूर्वसन्ध्यामा देखिने राजनीतिको नमूना भएको बताउँदै भुसाल थप्छन्, ‘जब एक वर्षसम्म चलचित्र हलमा नै लाग्न सकेको छैन भने यस्ता घटनाले चलचित्र क्षेत्रको विकासलाई अझ पछि धकेल्ने पक्का छ ।’ सामान्य स्थितिमा पनि चुनाव भन्नासाथ चलचित्रको व्यापार कम हुने गरेकोमा कोरोनाका कारण झण्डै १ बर्षदेखि हल बन्द भएको अवस्थामा चुनाबले यो क्षेत्रलाई अझ थिलथिलो बनाउने उनी बताउँछन् ।

आन्दोलनको भद्दा रुपले हैरान भएका कलाकारहरु नै सोध्न र सोच्न थालेका छन्, ‘आन्दोलन कहिले रचनात्मक हुने ?’

प्रतिक्रिया