प्रचण्डलाई चिडियाखानामा थुन्ने बादलको चेतावनी [भिडिओसहित]

  • धनबल राई

काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जावलाखेलको चिडियाखानामा थुन्ने चेतावनी दिएका छन् । गृहमन्त्रीसमेत रहेका बादलले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन् ।

अवसरवादीहरुले नेतृत्वलाई विस्थापित गर्नको लागि सबै प्रकारका षड्यन्त्रको सहारा लिँदै गएको बादलको तर्क थियो । ‘यदि नेतृत्वले राजीनामा गर्दैन भने त्यसलाई विस्थापित गरिनेछ’, बादलले भनेका छन्, ‘मांसाहारी तरिकाद्वारा चाहिँ नेतृत्वलाई अपदस्त गरिनेछ भन्ने घोषणा गर्दै हिँडेका छन् कोही । म यो ऐतिहासिक जनसभामार्फत् तिनिहरुलाई भन्न चाहन्छु, ति मांसाहारी आन्दोलन गर्नेहरुलाई हाम्रो संविधानले हाम्रो कानूनले अपराधी घोषित गरेको छ । र ति अपराधीहरुलाई, ति मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिनेछ ।’

यसअघि गत ६ माघमा प्रचण्डले आफ्नो आन्दोलनलाई थप आक्रामक बनाउनुपर्ने भन्दै कार्यकर्ताहरुलाई प्रशिक्षण गरेका थिए । सो क्रममा प्रचण्डले शाहाकारी आन्दोलनले मात्रै नहुने तर्क गरेका थिए । ‘(अदालत र निर्वाचन आयोगमा) सेटिङ्ग भइसकेको छ भन्ने केपी र केपी गुटका मान्छेलाई तपाईं हामी क्रान्तिकारीहरू, कम्युनिष्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आयो । यो सामान्य औपचारिकताको कुरा होइन । शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन । त्यसले पुग्दैन । त्यसलाई त उनले गन्नेवालै छैनन् ।’

प्रचण्ड र बादल दुवै पूर्वमाओवादीका शीर्ष नेताहरु हुन् । उनीहरु जनयुद्धमा समेत सँगै नेतृत्व गर्दै अगाडि बढेका थिए । त्यसपछि विकसित विभिन्न राजनीतिक घटनाका कारण उनीहरुबीच तिक्तता बढेको थियो । फलतः पछिल्लो पटक नेकपा दुई चिरा हुँदा बादल केपी शर्मा ओली समूहतिर लागे ।

प्रतिक्रिया