कोटेश्वरको सडकमा बन्दकर्ताको भोज !

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । बन्दकर्ता सडकमा छन् भने प्रहरीले अवरोध खुलाइरहेको छ ।
उपत्यकाका मुख्य सडकमा नेता तथा कार्यकर्ता देखिएपनि भित्री सडकमा सवारीसाधनहरु चलेका छन् भने पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् ।
सडकमा अवरोध सिर्जना गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ तर, कोटेश्वरमा भने फरक दृश्य देखिएको छ । त्यहाँ हड्ताल सफल बनाउन आएकोहरुलाई खानाको व्यवस्था गरिएको छ । सडकमै खाना पाक्दैछ ।
बिच सडकमा ग्यासमा खाना पाक्दै गर्दा बन्दकर्ताले सवारी अवरोध गरिरहेका छन् । हेरौं यो तस्बिर :-
काठमाडौंमा बन्द सफल पार्न निस्किएका कार्यकर्ताहरु सडकमै बसिरहेको पनि देख्न सकिन्छ । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।








