लगत संकलनका लागि अभिमुखीकरण

चितवन । भूमिहीन दलित,भुमिहीन र अव्यवस्थित वसोवासीहरुको लगत संकलनका लागि मंगलवार खैरहनी नगरपालिकामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । भूमि सम्वन्धी समस्या समाधान आयोग र खैरहनी नगरपालिकाबीच समझदारी पत्रमा सम्झौता भईसकेको छ ।

लगत संकलन कार्यलाई प्रभावकारी वनाउन यहाँका सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरिएको हो । आयोगका प्रतिनिधी रामप्रसाद भुषाल अव्यवस्थित वसोवासी र पोष्टराज ज्ञवाली भुमिहीन दलित र भूमिहीन वसोवासीले भर्ने फारामका विषयमा जानकारी गराए ।

मेयर लालमणि चौधरी, उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,शिक्षा अधिकारी राजु वानियाँ, वडाध्यक्षहरु, वडा सचिवहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

सो अवसरमा मेयर लालमणि चौधरीले भूमिहीन दलित, भुमिहीन र अव्यवस्थित वसोवासीहरु लालपुर्जा प्राप्त गर्ने सुविधाबाट वञ्चित नहुने गरि काम गर्न जनप्रतिनिधी र कर्मचारीहरु खट्नु पर्ने वताए । त्यस्ता समुदाय वर्षौदेखी भुमिहीन अवस्थामा छन् मेयर चौधरीले भने – कोही पनि सुविधाबाट वञ्चित नहुने गरि काम गर्न हामी सचेत वन्नु पर्छ ।

लगत संकलन कार्यलाई प्राथमिकता दिएर काम गर्न समेत मेयर चौधरीले आग्रह गरे । आयोगका नायव सुव्वा रामप्रसाद भुषालले अहिले गठित आयोग कानुनी आयोग भएकाले यसको काम नफेरिने भएकाले गंभीरता पूर्वक फाराम भर्ने काम गर्नु पर्ने वताए ।

खैरहनी नगरपालिकाले भूमि सम्वन्धी समस्या समाधान आयोग लगत संकलन इकाई खडा गरिसकेको छ । इकाई संयोजकमा नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीलाई तोकिएको छ ।

नगरका सवै वडाले वडास्तरीय सहजीकरण समिति गठन गरेका छन् भने नगरस्तरीय सहजीकरण समिति गठनको प्रक्रियामा रहेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आगामी सातादेखी भूमिहीन दलित,भुमिहीन र अव्यवस्थित वसोवासीहरुको लगत संकलनको काम सुरु हुने छ ।

प्रतिक्रिया