नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

वाग्मती । नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।

औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा सृष्टि श्रेष्ठको भनाइ छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा आवश्यक औषधि, जनशक्ति तथा बजेटको समेत अभाव रहेको उनको गुनासो छ ।

कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको छ । विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका वरिष्ठ आयुर्वेद चिकित्सक श्रेष्ठको दाबी छ ।

औषधालयमा चालु आवको साउनदेखि मङ्सिरसम्ममा तीन हजार ७११ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् भने गत आवको सोही अवधिमा दुई हजार ९९८ ले सेवा लिएका थिए । कोरोना सङ्क्रमण बढेपछि सात हजार ९९० ले विभिन्न रोगको उपचार गराएका थिए । यसअघि २०७५/७६ मा करिब सात हजारले उपचार गराएका थिए । रासस

प्रतिक्रिया