भ्रमले खोप लगाउने कार्य सुस्त

महोत्तरी । महोत्तरीमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् ।

पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । ‘पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य थियो तर ३८ जनाले मात्र यो सेवा लिए’, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड-१९ नियन्त्रण अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, ‘कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएका हुन् ।’

यद्यपि यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ । महोत्तरीमा दोस्रो दिन बिहीबार २६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ ।

एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि सुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । ‘अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित हामी सबैले देख्ने गरी खोप लगाएका छौँ’, जनस्वास्थ्य निरीक्षक झाले भने, ‘अब भ्रम हट्दै जान्छ र सेवा लिनेको सङ्ख्या बढ्छ ।’ जिल्लामा कोभिशिल्ड नामको यो खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई दिइने गरी प्राथमिकता निर्धारण गरिएको छ ।

पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी (अनमी) कला चौधरीबाट खोप लिएर यो सेवा प्रारम्भ गरेका थिए । जलेश्वर अस्पतालकक्षमै सञ्चालन गरिएको यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा पुर्‍याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयमा कार्यरतले धमाधम खोप लिइरहेका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए ।

जिल्लामा पहिलो चरणमा २४३ डोज खोप आएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । प्रत्येक भाइलमा १० जनालाई खोप लगाउन मिल्ने र कूल दुई हजार २३० जनालाई पहिलो चरणमा यो सेवा दिइने खोप अधिकृत झाले जानकारी दिए । पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया