नागरिकले निषेधाज्ञा तोडेर ल्याएको व्यवस्थामा नागरिकमाथि नै दमन !

काठमाडौँ । शान्तिपूर्ण नागरिक आन्दोलनमाथि प्रहरीले दमन गरेकोप्रति चौतर्फी विरोध भएको छ ।

संसद विघटनको विरोधमा सोमबार काठमाडौँको कमलपोखरीबाट बालुवाटारसम्म जाने क्रममा रहेका नागरिकलाई प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरि घाइते बनाएको विरोधमा विभिन्न दल, नेता तथा नागरिक अगुवा लगायतले विरोध जनाएका हुन् । उनीहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने नागरिक हकविरुद्ध सरकारले अनावश्यक धरपकड गरेको भन्दै आपत्ति जनाएका हुन् ।

घटनाको नेकपा, नेपाली कांग्रेस, जसपा लगायत दलका नेताले विरोध गरेका छन् यस्तै, पुर्व सभामुख दमननाथ ढुंगानाले राजनीति यति धेरै अस्थिर हुनु तथा हिजोका तीन घटना/दुर्घटनाको शन्देश के हुन् भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘राजनीति यतिविधि अस्थिर तथा अनर्थ हुन थाल्यो ? हिजोकै तीन घटना/दुर्घटनाका सन्देश के हुन् ? निर्वाचन आयोगले नेकपा एकता घोषणा गर्यो । प्र.म. पशुपतिनाथको साक्षात् दर्शन गर्न पुग्नुभयो । प्रबुद्ध नागरिकको बालुवाटार प्रदर्शनविरुद्ध सरकार निरंकुश व्यवहारमा उत्रने दुस्साहस गर्न सक्यो ।’

पुर्व मन्त्री तथा दोश्रो जनआन्दोलनका अग्रज नागरिक अगुवा देवेन्द्रराज पाण्डेले यसअघि आफुहरु अर्थात नागरिकले निशेषाज्ञा तोडेका कारण अहिले लोकतन्त्र आएको स्मरण गर्दै घटनाप्रति आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्– ‘२०६२ श्रावण १० मा हामी नागरिकले रत्नपार्क क्षेत्रमा निषेधाज्ञा तोडेकोले नै हालका सत्ताधारी र प्रतिपक्ष समेतले राज्यसत्ताको सुख सुविधा, खान्गी वान्की भोग गर्न पाइरहेछन् ।’

नेपाल मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पनि घटनाको विरोध गरेकी छन् । नागरिक आन्दोलनमा दमन भएको खबर कोट गर्दै ट्वीटरमा उनले भनेकि छन्– ‘शान्तिपूर्ण नागिरकको मार्च लाई कमलपोखरी देखि नै प्रहरी घेरामा राखिएको थियो । आज बिना कारण पानी फुहारा र कुटाई जसरी गरीयो त्यो अत्यन्त निन्दनीय छ । बिना कारण नागिरक कुट्ने छुट तपाईले पाउनु भएको छ आज पूर्ण विश्वस्थ भए । कठै मेरा प्रधानमन्त्री शान्तिपूर्ण हिडाईबाट भयभित हुनु भए छ ।’

यस्तै जुगल भुर्तेलले संसद विघटन गर्ने आधार र कारण पेश गर्नेले त्यो ठीक छैन भन्नेहरुका कुरा पनि सुन्नुपर्ने तर्क गरेका छन् । ट्वीटरमा उनी भन्छन्- ‘संसद विघटन गर्ने कारण छन् भनेर दावी गर्नेले त्यो ठीक छैन भन्नेका कुरा चैं सुन्नु पर्दैनरु नागरिकमाथि हुने हरेक अत्याचारले प्रतिरोध मात्र बढाउँछ, नियन्त्रण गर्न सक्दैन। राजनीतिप्रति कुनै चासो नभएको आम मानिसमा पनि निर्दोषमाथि हुने दमनले वितृष्णा जगाउँछ।यसरी नै, जन आन्दोलन हुन्छ ।’

यस्तै नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले पनि प्रहरी दमनको विरोध गरेका छन् । उनी लेख्छन्– ‘निषेधित क्षेत्र घोषणा र त्यसको पालनाका आफ्नै सीमा,शर्त र बाध्यता होलान् । तर लोकतन्त्रमा शान्तिपूर्ण विरोध र भद्र अवज्ञाको स्वतन्त्रता निस्शर्त हुन्छ । यो हदको प्रहरी दमन कदापि स्वीकार्य हुन् सक्दैन । के निषेधित क्षेत्रको आदेश संविधानप्रदत्त मौलिक हकभन्दा माथि हो ?’

‘नारायण वाग्ले, सन्जिव उप्रेति, कृष्ण पहाडि जस्ता सज्जन मान्छेहरूले बेफ्वाँकमा पानीको फोहरारलाठी खानपर्ने । गोविन्द केसी जस्ता सादगी डाक्टर भोकभोकै बस्नुपर्ने । तर सप्रमाण घुसको डिल गर्नेहरू, भ्रष्ट्राचारले गन्हाएकाहरूले भने मोज गर्ने । उनीहरूलाइ जे गर्न पनि छुट हुने । एकपल्ट होइन, पटक पटक । यो देशमा ठूलो गडवड छ’, अध्येता उत्तमबाबु श्रेष्ठले पनि यसको विरोध गर्दै स्टाटस लेखेका छन् ।

यस्तै साहित्यकार नयनराज पाण्डेले नागरिकको अधिकारका लागि आवाज उठाउँदा बालुवाटार बौलाउने कटाक्ष गरेका छन् । ‘जब नागरिकहरूले अधिकारका लागि आवाज उठाउँछन् नि, बालुवाटार दरबारमा बस्ने पामर राजाको मुटुमा ढ्याङ्गो बज्छ । बौलाउँछ बालुवाटार !’, उनले लेखेका छन् ।

पत्रकार राजेश राईले सोमबार बालुवाटारमा प्रदर्शन गर्न जाँदा प्रहरी दमनमा परेकाहरु प्रचण्ड नेपाल पक्षका कार्यकर्ता नभएको र उनीहरु ब्यवस्था र संविधान धरापमा पर्दैछ भनेर बुझेर आएको बताएका छन् । उनले भनेका छन्- ‘याद गर्नुहोस्, यी अनुहारहरु प्रचण्ड–नेपालका होइनन् । एकथरीका मान्छेहरु भनिरहेका छन्, यो केवल ओली–प्रचण्ड–नेपालबीचको कुर्सीको लडाई मात्रै हो । थाहा पाउनुहोस्, यी अनुहारहरु कुर्सी रक्षाको निम्ती सडकमा आएका होइनन् । व्यवस्था र संविधान धरापमा पर्दैछ भन्ने बुझेर आएका हुन् ।’

प्रतिक्रिया