काेराेनाकाे नयाँ स्वरूपसँग कति डराउने ?

काठमाडाैं । कोरोना भाइरसको नयाँ स्वरूप बेलायत, दक्षिण अफ्रिका, ब्राजिल, भारत, नेपाल लगायत विश्वका ५० भन्दा बढी देशहरूमा देखा परेकाे छ । काेराेना भन्दा यसकाे नयाँ स्वरूप धेरै संक्रामक रहेकाे अनुसन्धाताहरुले बताएका छन् ।

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले काेराेनाकाे नयाँ प्रजाति प्रभावकारी हुन सक्ने र मृत्युदर पनि  बढ्न सक्ने प्रमाण फेला परेकाे दाबी गरेका छन् ।

वैज्ञानिकहरूले काेराेनाकाे परिवर्तित स्वरूप कति खतरनाक छन् भन्ने विषयमा अध्ययन थालिसकेका छन् । अनुसन्धानरत वैज्ञानिकहरूका अनुसार, बेलायतबाट सुरू भएकाे नयाँ स्वरूपकाे काेराेना विश्वकाे ५० भन्दा बढी देशमा फैलिसकेकाे छ । यस्तै दक्षिण अफ्रिकामा भेटिएकाे नयाँ प्रजातिकाे काेराेना कम्तिमा २० देशमा फैलिसकेकाे छ ।

भाइरसको नयाँ स्वरूपकाे विकास खासै नयाँ हाेइन, सबै भाइरस परिवर्तित हुन्छन् । अहिले कोरोना भाइरसको हजाराैँ  स्वरूप फैलिरहेका छन् । यीमध्ये केही स्वरूप खासै असर गर्ने किसिमका छैनन् । केही प्रजाति त काेराेना भाइरसकै अस्तित्वका लागि समेत हानिकारक छन् । कुनै प्रजाति भने बढी संक्रामक र खतरनाक रहेकाे बीबीसीले जनाएकाे छ ।

बेलायतमा देखिएकाे नयाँ स्वरूपकाे काेराेनाबारे अनुसन्धान भइरहेका छन् । ती अनुसन्धानमा यसकाे संक्रमणबाट मृत्युकाे जाेखिम बढी हुने बताइएकाे छ । यद्यपी बेलायतका विज्ञहरू याे बलियाे प्रमाण नभएकाे र यसबारेकाे तथ्यांक अनिश्चित रहेकाे बताउँछन् ।

के नयाँ स्वरूपकाे काेराेना धेरै खतरनाक छ ?   

काेराेनाकाे मुल संस्करणकाे संक्रमणले वृद्ध वृद्धा र दीर्घ राेगीलाई बढी जाेखिम थियाे तर यसकाे नयाँ स्वरूपकाे संक्रमणले मानिसलाई कतिको गम्भीर बिरामी बनाउँछ यसबारे अहिलेसम्म कुनै प्रमाण फेला परेकाे छैन।

हात धुनु, व्यक्ति-व्यक्तिबीच दुरी कायम राख्नु, मास्क लगाउने जस्ता उपायहरूले संक्रमण राेक्न मद्दत गर्दछ । फैलने क्षमता बढी भएकाे नयाँ स्वरूपकाे संक्रमण देखापर्ने भएकोले मानिसहरू अझ सतर्क हुन जरूरी छ ।

भाइरसमा के हुँदैछ परिवर्तन? 

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएकाे नयाँ स्वरूपकाे काेराेना धेरै संक्रामक र अघिल्लाे भाइरसकाे तुलनामा तीव्र रूपमा फैलन सक्छ । ती सबैमा स्पाइक प्राेटीनहरू परिवर्तन भएका छन् । याे भाइरसकाे अंश हाे, जुन मानव काेषहरूसँग जाेडिएकाे हुन्छ । याे भाइरस काेषिकाहरूलाई संक्रमित बनाउन र फैलन ज्यादा सक्रिय रहेकाे खबरमा उल्लेख छ ।

सार्वजनिक स्वास्थ्य इंग्ल्याण्डले गरेकाे रिसर्च अनुसार नयाँ स्वरूपकाे काेराेना ३० देखि ५० प्रतिशत संक्रामक छ । नयाँ संस्करणकाे काेराेना फैलन सुरू भएलगत्तै बेलायतमा लकडाउन गरिएकाे छ ।

दक्षिण अफ्रिकामा अक्टाेबरमा नयाँ स्वरूपकाे काेराेना देखिएकाे थियाे । यसकाे ‘स्पाइक प्राेटिन’मा उल्लेखनीय परिवर्तन देखिएकाे वैज्ञानिकले जनाएका छन् ।

बेलायतले दक्षिण अफ्रिकासँगकाे हवाइ उडान प्रतिबन्ध लगाएकाे छ । हालसालै दक्षिण अफ्रिका भ्रमण गर्ने वा उनीहरूकाे सम्पर्कमा आएका व्यक्तिहरूलाई तत्काल क्वारेन्टिनमा राख्न भनिएकाे छ ।

ब्राजिलमा जुलाईमा नयाँ स्वरूपकाे काेराेना देखिएकाे थियाे । त्यहाँ विकसित भाइरसमा पनि स्पाइक प्राेटिनमा उल्लेखनीय परिवर्तन देखिएकाे छ । यसकारण बेलायत सरकारले दक्षिण अमेरिका र पोर्चुगलकाे  हवाइ उडानमा पनि प्रतिबन्ध लगाएकाे छ ।

खोपले काम गर्छ ? 

अहिले विकसित भइरहेका खाेप र नयाँ स्वरूपकाे काेराेनामा त्यसले पार्ने प्रभावबारे वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । केही सार्वजनिक प्रारम्भिक नतिजाले फाइजरकाे खाेप बेलायतमा फैलिएकाे नयाँ स्वरूपकाे काेराेनाकाे संक्रमण समेत राेक्न उपयुक्त भएकाे देखाएकाे छ ।

यी खाेपहरू काेराेना भाइरसकाे संक्रमण राेक्नका लागि विकसित गरिएकाे थियाे । तर वैज्ञानिकहरूले यी खाेपहरू काेराेनाकाे नयाँ स्वरूपकाे संक्रमण समेत राेक्न समेत प्रभावकारी हुने दाबी गरिरहेका छन् । यद्यपी यसकाे नतिजा भने प्रयाेगपछि मात्रै थाहा हुनेछ ।

प्रतिक्रिया