देशैभर यसरी लगाइनेछ कोरोनाविरुद्धको खोप

काठमाडौँ । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोभिड-१९ विरुद्धको खोप आज काठमाडौं आइपुग्दैछ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यहीँबाट आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ । कोल्डचेनसहितको खोप भ्यानमार्फत स्थानीय तहमा खोप पुर्‍याउने विभागको तयारी छ ।

उपत्यकासहित, विराटनगर, पथलैया, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा कोल्डस्टोरहरु तयारी अवस्थामा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार तिनै कोल्डस्टोरमा पुगेका खोप अस्पतालहरुमार्फत लगाइनेछ ।

खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पूर्वअभ्यास गराइसकिएको र आवश्यकता अनुसार थप अभ्यास गराइनेछ । ७७ जिल्लामै एकैसाथ खोप लगाउने अभियान गरिने सहप्रवक्ता अधिकारीले बताए । ‘भारतबाट आउने पहिलो चरणको खोप ७७ वटै जिल्लाका अस्पतालहरुबाट एकैपटक लगाइन्छ,’ उनले भने ।

उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ । त्यसका लागि खेर जाने समेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आकँलन गरिएको छ ।

पहिलो चरणमा दिइने खोपका लागि स्वास्थ्य मन्त्रालयले यसअघि नै स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएकाहरुको तथ्यांक संकलन सुरु गरेको थियो । जसअनुसार अग्रपंक्तिमा खटिएकाहरुको संख्या नेपालमा ९ लाख हाराहारीमा रहेको र त्यसका लागि दुई डोज लगाउन (खेर जाने मात्रा समेत जोडेर) २० लाख खोप आवश्यक पर्नेछ ।

दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ । उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको जनाइएको छ । यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ । खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने स्वास्थ्य मन्त्रालयको आकलन छ ।

प्रतिक्रिया