संसद् पुनःस्थापना हुँदैन, नेकपा फुटेकै छैन : मन्त्री ठगुन्ना

काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौँ । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीँअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’

साक्षात्कारमा बोल्दै उनले सरकार बन्नुअघि र बनेपछिको अवस्थाबारे बताउँदै २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन, वाम गठबन्धनको आधारमा जनताको बीचमा गएर स्थायित्वको लागि मत मागेको स्मरण गराए । उनले वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेट जनताले दिएको र जनताको म्याण्डेअनुसार यो सरकारले काम गर्दै आएको भन्दै विकास र समृद्धिको अभियान अघि बढेकोे बताए ।

उनले केन्द्रदेखि स्थानीय तहसम्म विकास निर्माणका कार्य पनि तीव्रगतिमा भइरहेको दाबी गरे । उनले भने,‘भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरु खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरु समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरुको सेवा सुविधाको बारेमा समेत यो सरकारले आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदै लग्यो ।’

ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तीव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए ।

उनले थपे,‘केपी ओली नेतृत्वको सरकारले लामो समयदेखि मिचिएको हाम्रो भूमि समावेश गरेर नक्सा सार्वजनिक गरी अन्तर्राष्ट्रिय जगतमै हाम्रो भूमिको आधिकारिक दाबी गर्यौँ, त्यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढायौं । भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम अगाडि बढ्दै जाँदा सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’

उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको बताए । मन्त्री ठगुन्नाले वर्तमान सरकारले घोषणा गरेको निर्वाचन संविधानअनुरुप नै रहेको दाबी गरे । उनले भने,‘अहिले हामी निर्वाचनमा जाँदैछौं । जनताले प्रगति, समृद्धि, राष्ट्रियता र भौगोलिक अखण्डता, विकास र समृद्धिको पक्षमा मतदान गर्नेछन् ।’

निर्वाचनको सम्पूर्ण तयारीमा खासगरी कर्मचारीको व्यवस्थापनको सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय पूर्ण तयारीका साथ लागेको उनले बताए ।

यस्तै, उनले संविधानअनुसार संसद पुनःस्थापना हुन नसक्ने दाबी गरे । उनले भने,‘नेकपाले अन्यथा निर्णय नगरेकोले संसद् पुनःस्थापना हुँदैन्, संवैधानिक हिसाबले पनि निर्वाचनमा जाने कुरा उपयुक्त हो ।’

नेकपा नफुटेको भन्दै अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको उनले जिकिर गरे । वर्तमान सरकारले सिमामा सुरक्षाको राम्रो प्रवन्ध गरेको पनि उनको दाबी छ ।

प्रतिक्रिया