भारतले नेपाललाई दियो १० लाख डाेज काेभिडविरूद्धकाे भ्याक्सिन, भाेलि आइपुग्ने

काठमाडाैँ । भारतले १० लाख डोज कोभिडविरूद्धकाे भ्याक्सिन नेपाललाई अनुदानमा दिने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै अनुदानमा प्राप्त १० लाख डाेज खाेप भाेलि (बिहीबार) काठमाडाैं आइपुग्ने जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार पहिलाे चरणमा ल्याइने खाेप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाइकर्मी लगायत काेभिडविरूद्ध अग्रपंक्तिमा खटिएका याेद्धाहरूलाई लगाइने छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयदेश त्रिपाठीले प्रतिकुल अवस्थाका बाबजुद पनि नेपाललाई खोप उपलब्ध गराएकाे भन्दै भारत सरकारलाई धन्यवाद दिए । उनले भने, ‘खाेपका लागि प्राविधिक, आर्थिक, कानुनी सबै प्रक्रिया पुरा भइसकेकाे छ । नेपाल-भारत मित्रताकाे अनुपम उपहार हाे याे, हामीले याे सहयाेगलाई महत्वका साथ लिएका छाैँ ।’

स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार पहिलाे लटकाे उक्त खोप बाँकी रहेमा जाेखिममा रहेका अन्य जनसंख्यालाई पनि लगाइने छ । उनले दाेस्राे चरणकाे खाेप खरिदका लागि पनि प्रक्रिया अघि बढाइने र खरिद प्रक्रिया पारदर्शी हुने पनि बताए ।

नेपालले कुल जनसंख्याकाे ७२ प्रतिशत जनसंख्यालाई खाेप उपलब्ध गराउने यसअघि नै सरकारले जानकारी गराइसकेकाे छ । भारतमा बनेको ‘कोभिसिल्ड’ खाेप वितरणका लागि नेपाल सरकारले जनशक्ति पनि तयारी अवस्थामा राखेकाे छ । भण्डारण र ढुवानीका लागि याे भ्याक्सिन नेपाल अनुकुल हुने बताइएकाे छ ।

प्रतिक्रिया