‘नागरिक एप’ प्रयोग गर्न सिमकार्ड आफ्नै नाममा हुनुपर्ने

नकाठमाडौं । नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहकहरुले प्रयोग गर्न सक्ने छन् । टेलिकमका ग्राहकले आफ्नो नाममा दर्ता भएको सिमकार्ड बाट मात्रै उक्त एप प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अुनसार टेलिकमका केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको कारण एप प्रयोग गर्न नमिल्ने भएको छ । सिम कार्ड आफ्नो नाममा भए नभएको थाहा पाउन *922# डायल गरी जानकारी लिन सकिने छ । यस्तै नामको हिज्जे सही छ/छैन निक्र्यौल पनि गर्न सकिन्छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा लिन सकिने छ ।

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई पनि गर्नुपर्छ ।

यस्तै पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनपर्नेछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ ।

संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा गई नियमानुसार नामसारी गर्न सकिन्छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।

विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकवर्गको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने छ ।

दूरसञ्चार कार्यालयहरुबाट ग्राहकको विवरण अद्यावधिक÷नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रुपमा सो सेवा ग्राहकलाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया