मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय बालुवाटारमा बुझायो

|नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल। तस्वीरः मकालु खबर|

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय बालुवाटारमा बुझाएको छ ।

आफ्नो पार्टीको स्थायी कमिटी बैठकले ओलीलाई स्पष्टीकण सोध्न गरेको निर्णय सोमबार दिउँसो बालुवाटार पुगी बुझाएको नेता सुरेन्द्र पाण्डेले मकालु खबरलाई जानकारी दिए । ‘पत्र चाहिँ हामीले गेटमा ड्रप गर्यौँ । केही साथीहरुले भित्र सचिवालयमा सोधे’, नेता पाण्डेले भने, ‘म, मुकुन्द न्यौपानेजीलगायतका साथीहरु गएका थियौँ । दर्ता गर्नुस् भनेको । उहाँहरुले दर्ता गर्ने चलन छैन भन्नुभयो । भित्र सोधेपछि यतै छोडिदिनुस् भनेर भन्नुभयो । हामीले छोडेर आएका छौँ ।’

गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि ओलीलाई दाहाल–नेपाल समूहले अनुशासनका कारबाही गरेको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने रु भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही पत्र लिएर नेताहरु बालुवाटार पुगेका हुन् ।

लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

फाइल फोटो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ ।

‘प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प छैन’
राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनर्स्थापनको विकल्प नभएको बताएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनस्थापनाको निम्ति संघर्ष आवश्यक रहेको बताए । लोकतन्त्र, संविधानप्रतिको निष्ठा जाहेर गर्दै राजनीतिक दल नागरिक समाज लगायतले शक्ति प्रदर्शन गर्नसके अदालतले संविधान भित्रै रहेर निर्णय गर्ने उनको भनाइ छ । प्रतिनिधि सभा विघटनमा अन्तरराष्ट्रिय शक्तिको पनि गलत चलखेल रहेको भन्दै उनले शक्ति प्रदर्शनबाट त्यस्तो चलखेल रोकिने पनि बताए । प्रतिनिधि सभालाई जिवित गर्नुपर्नेमा उनको जोड छ ।

३७४ जना निको हुँदा ३२२ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । आज (सोमबार) थप ३२२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेको हो । काठमाडौंमा मात्रै आज १ सय ४१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरका ७ र ललितपुरका १५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३७४ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ७ जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा आज २२१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ८६१ रहेको छ । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ भने मृतक संख्या १ हजार ९६५ पुगेको छ ।

शुलभ ट्रेड कन्सर्नका प्रोपाइटरविरुद्ध करछलि मुद्दा, ६ करोड ५२ लाख विगो माग
राजस्व अनुसन्धान विभागले बाराका एक व्यापारविरुद्ध कर छलिको मुद्दा दायर गरेको छ । विभागले ६ करोड ५२ लाख १३ हजार ७२६ विगो र कैद सजाय मागदाबी सहित आइतबार उच्च अदालत पाटनमा बाराको विश्रामपुर–५ बस्ने शुलभ ट्रेड कन्सर्नका अमिरी ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आ।व। २०६८/०६९ देखि २०७३/७४ सम्ममा मू.अ.कर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ : रामचन्द्र पौडेल

नेकाका बरिष्ठ नेता रामचन्द्र पौडेल। फाइल फोटो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गराएरै छोड्ने दाबी गरिरहेका बेला नेता पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘७० वर्ष लगाएर बनाएको संविधानमा व्यापक छलफलबाट राखिएको व्यवस्था तीन वर्षमै उल्लंघन गर्न थाल्यौं भने यो संविधान पनि औचित्यहिन बन्‍न सक्छ । लोकतन्त्रको चीरहरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ’, पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालमा भित्रियो नयाँ स्वरुपको कोरोना, सावधानी अपनाउन अनुरोध

|सांकेतिक तस्वीर|

नेपालमा नयाँ स्वरुपको कोभिड–१९ भित्रिएको पुष्टि भएको छ । पुस पहिलो हप्ता बेलायतबाट आएका तीन जनामा परिवर्तित स्वरुपको कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमा पुस १३ गते कोभिड १९ पुष्टि भएपनि त्यो नयाँ स्वरुपको हो कि होइन भन्ने परीक्षणका लागि उनीहरुको स्वाबको नमूना हङकङ पठाइएको थियो । इमेलमा प्राप्त नमूनाको रिपोर्टमा नयाँ स्वरुपको भाइरस भएको पुष्टि भएको मन्त्रालयले आइतबार पुष्टि गरेको हो । २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ स्वरुपको भाइरस पुष्टि भएको हो ।

उनीहरुमध्ये दुईजना कोभिड मुक्त भइसकेको र ६७ वर्षीय पुरुषमा भने अझै संक्रमण रहेको पनि मन्त्रालयले जनाएको छ । उनमा कोभिड १९ को कुनै लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले कोभिड १९ को जोखिम कम गर्न भीडभाडमा नजान जानैपरे कम्तीमा दुई मिटर दूरी कायमै राख्न पटकपटक साबनुपानीले हात धुन तथा बाहिर निस्कँदा मास्क लगाउन अनुरोध पनि गरेको छ ।

बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन, मेस्सीले पाए रेड कार्ड
स्पेन सुपरकोपाको उपाधि एथलेटिक विल्बाओले जितेको छ । गएराती सम्पन्न फाइनलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपरकोपाको उपाधि जितेको हो । एथलेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए ।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २-२ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो । एथलेटिकले खेलको ९० मिनेटमा गोल गर्दै बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसपछि खेलको ९३औं मिनेटमा एथलेटिकले गोल गर्दै अग्रता बनाएर खेल जितेको थियो । यस खेलमा खेलको १२१औं मिनेटमा बार्सिलोनाका लियोनेल मेसीले रातो कार्ड पाएका थिए । मेसीले बार्सिलोनाको क्यारियरमा पहिलो रातो कार्ड पाएका हुन् । बार्सिलोनाका लागि ७५३ खेल खेलेका मेसीले पहिलो पटक रातो कार्ड पाएका छन् ।

एथलेटिक बिल्बाओले योसँगै तेस्रो पटक सुपरकोपा जितेको छ । यस अघि बिल्बाओले सन १९८४ र २०१५ मा सुपर कोपाको उपाधि जितेको थियो । सुपरकोपाको उपाधि सबैभन्दा धेरै १३ पटक बार्सिलोनाले जितेको छ भने रियल म्याड्रिडले ११ पटक जितेको छ । स्पेनिस सुपरकोपामा गत सिजनको ला लिगा च्याम्पियन, ला लिगाको उपविजेता र गत सिजनको कोपा डेल रेका दुई फाइनालिष्ट गरि चार टिम खेल्ने गर्दछन् ।

जेष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार
युनेस्कोले जेष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ । विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कार मध्य नेपालको सो संस्थाले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो ।

सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कारको स्थापना सन् १९८९ मा भएको हो ।

सेयर बजारमा सोमबार पनि दोहोरो अंकको वृद्धि कायमै
साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । शेयर बजार परिसुचक सोमबार १७ अंकले बढेर २३३२ विन्दुमा पुगेको छ ।

यो अहिलेसम्मकै उच्च बिन्दु हो । आइतबार परिसूचक २८ अंकले बढेको थियो ।

सोमबारको बजारमा जलविद्युत् बाहेक सबै समूहगत परिसूचक उकालो लागेका छन् । जलविद्युत् समूह आइतबारपनि घटेको थियो ।

प्रतिक्रिया