सेयर बजारमा सोमबार पनि दोहोरो अंकको वृद्धि कायमै

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । शेयर बजार परिसुचक सोमबार १७ अंकले बढेर २३३२ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च बिन्दु हो ।

आइतबार परिसूचक २८ अंकले बढेको थियो । सोमबारको बजारमा जलविद्युत् बाहेक सबै समूहगत परिसूचक उकालो लागेका छन् । जलविद्युत् समूह आइतबारपनि घटेको थियो ।

सोमबार जीवन बीमा समूह २०० अंकले उकालो लागेको छ भने अन्य समूह पनि १०० अंकभन्दा बढीले उकालो लागेका छन् । सोमबारको बजारलाई उचाल्न प्रभु बैंकको सेयरले बढी भूमिका खेलेको देखियो । प्रभु बैंको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । त्यस्तै, नेपाल टेलिकमको २६ करोड एनआइसी एसिया बैंकको २० करोड, पुनर्बीमा कम्पनीको १७ करोड, नेपाल लाइफको १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सिभिल लघुवित्त, बिशाल बजार कम्पनी, गोर्खाज् फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्त, स्वावलम्बन लघुवित्त, गुराँस लघुवित्त र एचआइडिसिएल, तारागाउँ रिजेन्सी होटल, कर्पेरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ, बरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र छ्याङ्दी हाइड्रोपवारको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

सोमबार २०७ कम्पनीको ६ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबारको कारोबार पछि सेयर बजार पूँजीकरण ३२ खर्ब नजिकै पुगेको छ ।

प्रतिक्रिया