नेपालकाे साढे ८ प्रतिशत जनसँख्या शेयर बजारमा

काठमाडौं । शेयर कारोबारका लागि डिम्याट (अभौतिक वा डिजिटल) खाता खोल्नेको संख्या २५ लाख ५३ हजार नाघेको छ । सोमबारसम्म डीम्याट खाता खोल्नेको संख्या २५ लाख ५३ हजार ८ सय ९६ पुगेको र यो बढ्दो क्रममा रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

लिमिटेडको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै झण्डै डेढ लाख डिम्याट खाता खोलिएको छ । यस हिसाबले औसतमा दैनिक १५ हजार देखि १६ हजार वटासम्म डिम्याट खाता खुलेको देखिन्छ ।

खासगरि पब्लिक लिमिटेड कम्पनीले खोल्ने प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिन डिम्याट खाता खोल्नेका कारण यो संख्या उकालो लागेको हो । अर्कोतर्फ शेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य भएपछि पनि यस्तो खाता खोल्नेको संख्या बढेको हो । नेपालको जनसंख्या ३ करोड मान्दा डिम्याट खाता खोलेर शेयर बजारमा प्रवेश गर्ने नेपालीको संख्या साढे ८ प्रतिशत पुगेको छ ।

गएको पुस २४ गतेदेखि खुलेको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ र माघ २ गतेदेखि खुलेको पुर्वाधार विकाश बैंकको आईपीओमा आवेदन दिन पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । पुर्वाधार बैंकको आईपीओ आबेदन गर्ने सबैलाई पर्ने चर्चा चलेपछि पनि डिम्याट खाता खोल्नेहरुको संख्या बढेको शेयर विश्लेषकहरु बताउँछन् ।

यो बैंकको शेयर मंगलबारसम्म रहेको र मंगलबारसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख ननाघ्ने अनुमान गरिएको सीडीएसले जनाएको छ ।

सेवाग्राहीको संख्या बढेसँग डिम्याट एकाउन्ट खोल्न, सिआरएन नम्बर लिन, मेरो शेयर सुविधा लिन तथा शेयरका लागि आवेदन फारम भर्न जानेका कारण पुस २३ यता बैंकहरुमा भीड बढेको छ ।

हालसम्म डिम्याट खातामा ५ अर्ब ७४ करोड ७ लाख ४५ हजार ८ सय ६२ कित्ता शेयर रहेको सीडीएसले जनाएको छ ।

प्रतिक्रिया