सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रातीको समयमा सुनसरीको ईटहरी उपमहानगरपालिका २ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दुई जनाको मृत्यु भएको हाे ।

धरानबाट ईटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक धरान १० का ३० बर्षीय विक्रम चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते चेम्जोङको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका १ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका १ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ । चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४९७१ नम्बरकाे मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । गम्भीर घाइते भएका याख्खाको विराट नर्सिङ होममा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया