पोखरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

पाेखरा । कास्कीमा जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । पोखरा-बाग्लङ राजमार्गमा पर्ने पोखरा-२५ याम्दीमा हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पुनद्वयको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा मृत्यु भएको हो । जीपमा नौ जना सवार थिए । घाइते सात जनाको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुले पनि तीव्र गतिको कारण दुर्घटना भएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया