मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

नेपाली जनता हाँस्दा किन पिर पर्‍या ?

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः विकास अर्याल, मकालु खबर|

प्रतिनिधि सभा विघटनपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भाषणको कटाक्ष गरेका छन् ।

शनिबार प्रदेश सम्पर्क समिति प्रदेश नं. १ को आयोजनामा काठमाडौं तीनकुनेको रोयल बैङ्क्वेटमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन प्रधानमन्त्री ओलीले दाहालले केही अगाडि प्रज्ञा प्रष्ठिानमा गरेको भाषणको कटाक्ष गरेका हुन् । ‘नेपाली जनता हाँस्दा कि पिर परेको ?’, ओलीले भनेका छन्, ‘जनताको मुहारमा म खुशी भर्न चाहन्छु ।’

यसअघि दाहालले प्रज्ञा भवनमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीप्रति इङ्गित गरी आफूहरुले जनतालाई हँसाउने मात्रै नभएर काम गरेर देखाउने बताएका थिए । दाहालले भनेका थिए, ‘हामी ठट्टा गरेर जनतालाई हँसाउन यहाँ आएका छैनौँ । हामी काम गरेर जनतालाई खुशी पार्न चाहन्छौँ ।’

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको पनि बताए ।

उनले भने,‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन । अँ सपनालाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन क्या ।’

यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा ओलीले सपना प्रधान मल्लसहित ४ जना न्यायाधीशहरुलाई भेटेको समाचारहरु बाहिरिएका थिए ।

सबै स्थानीय तहमा कांग्रेसको विरोध
नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।

गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपिल गरेका छन् । विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु ।’

संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसविरुद्ध कांग्रेस एक्लै संघर्षमा छ ।

‘नेकपालाई प्रचण्ड र माधवमुक्त बनाउनुपर्छ’

शहरी विकासमन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कुनै पनि हालतमा देश बनाउन नसक्ने बताएका छन् ।

|बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकासमन्त्री प्रभु साह। तस्वीरः मकालु खबर|

शनिबार प्रदेश सम्पर्क समिति प्रदेश नं. १ ले काठमाडौंको तीनकुनेको रोयल इभेन्ट बैङ्क्वेटमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमाओवादी नेता साहले यस्तो बताएका हुन् । ‘प्रचण्ड–माधवले देश बनाउँदैनन्’, सम्बोधनका क्रममा मन्त्री साहले भनेका छन्, ‘उनीहरुले देश बनाउँछन् भन्नु गोरुले दुध दिन्छ भन्नुजस्तै हो ।’

यस्तै मन्त्री साहले प्रचण्ड र माधवमुक्त नेकपा बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालले पार्टीभित्र अलोकतान्त्रिक काम गरेको बताउँदै मन्त्री साहले भनेका छन्, ‘अब नेकपालाई प्रचण्ड र माधवमुक्त बनाउनुपर्छ । त्यसो नभएसम्म कम्युनिष्ट आन्दोलनले तीव्रता पाउँदैन ।’

थप २४० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सांकेतिक तस्वीर। मकालु खबर।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४४ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर चार हजार ५४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख आठ हजार ९४४ को पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

चल्ने भो जनकपुर-जयनगर रेल !
जनकपुर-जयनगर-कुर्था खण्डमा नियमित रेल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । सो खण्डमा यहि माघको अन्तिम सातादेखि नियमित रेल सञ्चालनमा आउने भएको हो ।

फोटो : बलराम मिश्रको फेसबुकबाट

नेपाल रेल्वे कम्पनीका अनुसार जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार अब सो खण्डमा रेल सञ्चालन गर्न कुनै पनि प्राविधिक काम बाँकी छैन ।

रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसनसँग सम्झौता हुनेछ । र आवश्यक जनशक्ति नेपाल आइपुग्नेछन् । ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको पनि महाप्रबन्धक भट्टराईले बताए ।

सो खण्डमा रेल सेवा सञ्चालन गर्न असोज २ गते नै भारतबाट ल्याइएका दुईवटा डेमो रेल जनकपुरमा पार्किङ गरी राखिएको छ । जयनगर(जनकपुर(कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर(बर्दिबास(६९ किलोमिटर)सम्म विस्तार हुने बताइएको छ । हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ ।

भारतमा कोरोना खोप लगाउन सुरु

भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन शुरु गरेको छ । स्थानीय समयअनुसार बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेका हुन् ।

अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गरेका छन्। भर्चुअल रुपमा भएको कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी भएका थिए। अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

फाइल फोटो

भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ । खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताए ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।

पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने भारतसँग सहमति
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतीय विदेशमन्त्री डा. सुब्रमन्यम जयशङ्करले गरे ।

बैठकले दुई देशले योजनाबद्ध ढङ्गका साथ अगाडि बढाइरहेका द्विपरियोजनालाई गति दिने विषयमा सहमति जनाएको छ । त्यसअन्तर्गत दोधारा चाँदनीमा नयाँ एकीकृत चेकपोस्ट, भन्सार चेकपोस्ट निर्माण, बाँकी सीमापार रेल्वे सेवा, सडक निर्माण, ट्रान्समिसन लाइनलगायत अन्य रहेका छन् ।

बैठकले दुई पक्षीय व्यापार सन्धिका बारेमा पनि समीक्षा गरेको छ । साथै पारवहन र रेल्वे सेवाका विषयमा पनि थप छलफल गरेर अघि बढ्न सकिने मार्गदर्शन प्रदान गरेको छ । दुवै पक्षले व्यापार सन्धि, पारवहन सन्धिको पुनरावलोकन गर्न सहमति जनाएको छ ।

त्यस्तै सेल्वे सेवासम्बन्धी सम्झौतामा संशोधन गरेर दुई पक्षीय सहकार्य बलियो बनाउने विषयमा पनि बैठकमा सहमति भएको छ । जल सम्पर्क विस्तारका लागि आवश्यक प्रगति भएको भन्दै यस विषयमा पनि थप छलफल गरेर अघि बढ्न दुई देशका उच्चाधिकारी सहमत भएका छन् । बैठकले ४०० केभी बुटवल–गोरखपुर सीमापार ट्रान्समिसन लाइन विस्तारका लागि सहमति व्यक्त गरेको छ ।

ढुङ्गा छल्न खोज्दा लडेर हवल्दारको ज्यान गयो
हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।

गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ल्याइएको थियो । उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ
विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन् । विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए । नेपालका जुनियर खेलाडी दाहालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए ।

उनी पुष्पलाल स्मृति र्याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध छैनन् । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ ।

भारतद्वारा पाम आयलमा प्रतिबन्ध : ९० प्रतिशत नेपाली उद्योग धराशायी
छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६ ७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो । नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले भने, “पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रु ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

 

प्रतिक्रिया