अध्ययन भन्छ- कोरोना संक्रमणपछि पाँच महिना ढुक्क !

काठमाडौं । एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएका छन् । तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण दोहर्‍याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना रहेको बताएका छन् ।

नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताइन् । तर उनले यसको अर्थ दोहर्‍याएर हुनै नसक्ने भन्ने नभएकोले सुरक्षाका उपायहरू अपनाउन पर्ने बताइन् ।

उनले पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको बताइन् । ‘यसको अर्थ तपाईँलाई सङ्क्रमण भइसकेको छ भने फेरि गम्भीर खालको सङ्क्रमण नहुने सम्भावना ज्यादा भएको विश्वास गर्न सक्नुहुन्छ तर तपाईँ सङ्क्रमित हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना भने हुन्छ,’ उनले भनिन् ।

सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित छ । तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३१८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६,६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो ।

वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन् । उनीहरूले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन् । लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरूका लागि सकारात्मक भएको बताइन् । ‘कोरोनाभाइरस सङ्क्रमण भइसकेका व्यक्तिले खोप लिन हुन्छ र यसले प्राकृतिक रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ,’ उनले भनिन् । –बीबीसीबाट

प्रतिक्रिया