प्रदेश १ की उपसभामुख भन्छिन्–‘दलभित्रको समस्याले नागरिकमा हीनताबोध छायो’

काठमाडौं । प्रदेश नं. १ की उपसभामुख सरस्वती पोखरेलले दलभित्रको समस्याले नागरिकमा हीनताबोध छाएको बताएकी छिन् । आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शेरधन राईसहित ८ जना मन्त्री/सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेपछि उपसभामुख पोखरेलले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

आफू उपसभामुख भएको र कसैको पक्ष–विपक्ष नलिने बताउँदै पूर्वमाओवादी नेतृ उपसभामुख पोखरेलले दलभित्रको समस्या दलभित्रै सुल्झिनुपर्ने तर, त्यसो हुन नसकेको बताइन् । ‘दलभित्रको समस्या दलभित्रै मिल्नुपर्ने थियो, तर याे हुन सकेन । यहाँ नेताहरुले बढी रिस साँधेजस्तो पो देखियो । यसले जनतालाई असर पारेको छ । जनताहरुमा हीनताबोध बढ्यो’, उपसभामुख पोखरेलले मकालु खबरसँग भनिन् ।

प्रदेश सभा जनताको नजिकको सरकार भएको औंल्याउँदै उपसभामुख पोखरेलले केन्द्रको समस्या नै प्रदेश पसेको बताइन् । ‘खासगरी केन्द्रको समस्या प्रदेशमा आएको हो । प्रदेशमा त आयो आयो, यसले जनतालाई नराम्रोसँग प्रभाव पार्यो । यो हुन नहुने हो’, उपसभामुख पोखरेलकाे भनाइ छ ।

४ गते प्रदेश सभाको बैठक बोलाएको बताउँदै उपसभामुख पोखरेलले कसरी हुन्छ मिलेर अगाडि बढ्ने प्रयास गर्ने बताइन् । मिलेर जाने अवस्था छ र ? भन्ने प्रश्नमा उपसभामुख पोखरलले भनिन्, ‘राजनीतिक कुरा हो । नमिल्ने त कुरै छैन । तर, त्यसको आधार भने नेताहरुले अवश्य पनि तयार पार्नुपर्छ ।’

यसअघि दाहाल–नेपाल पक्षले गत आइतबार मुख्यमन्त्री राईसहित, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको थियो ।

यसअघि नै मुख्यमन्त्री राईले पनि १६ जना मन्त्री/सांसदहरुलाई निलम्बन गरेका थिए ।

प्रतिक्रिया