संस्कृति जोगाउन ‘प्वाका, घोंगी’ फुड फेस्टिवल

चितवन। थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनीमा प्वाका, घोंगी फुड फेष्टिवल हुने भएको छ । थारु समुदायको नयाँ वर्ष २६४४ को अवसर पारेर माघ १ गते वाईएसी इभेन्टले फुड फेस्टिवल आयोजना गर्न लागेको हो ।

थारु समुदायको नयाँ वर्षको अवसरमा यसअघि खैरहनीमा खिचरा महोत्सव हुदै आएको थियो । तर कोरोना भाईरसपछि मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै एक दिने फेस्टिवल आयोजना लागिएको फेस्टिवल संयोजक जयश चौधरीले जानकारी दिए ।

फेस्टिवल खैरहनी ६ जमौली स्थित डिज्नी पार्क रिसोर्ट परिसरमा हुनेछ । थारु समुदायको संस्कृति जर्गेना गर्ने उदेश्यसहित फेस्टिवल आयोजना गर्न लागिएको संयोजक चौधरीले बताए ।

चौधरीका अनुसार फेस्टिवलमा विषेशगरी प्वाका र घोंगीका साथै थारु समुदायका खानाका परिकार रहनेछन् । फेस्टिवलमा थारु समुदायको खानाको परिकारको स्वाद लिन पाउनुका साथै विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

खिचरा महोत्सवमा जस्तै यस फेस्टिवलमा पनि प्वाका बनाउने प्रतियोगिता, घोंगि खाने प्रतियोगिता र हाँस समाउने प्रतियोगिता आयोजना हुने वाईएसी इभेन्टका प्रमुख रामचन्द्र चौधरीले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक मिलन लामा, गायक रोहित सिंह र गायिका अनु चौधरीको सांगेतिक प्रस्तुति समेत रहने इभेन्ट प्रमुख चौधरीले बताए ।

प्रतिक्रिया