‘राष्ट्रिय झण्डा चिनाउने अभिभारा युवा पुस्तालाई छ’ [भिडिओसहित]

काठमाडौं । होचो कद । कालो वर्ण । भादगाउँले टोपी । इस्टकोट र दौरा–सुरुवाल । कालो जुत्ता । भादगाउँले टोपीको किनारबाट सेतै कपाल बाहिर निस्किएका । टोपीमा पनि ‘क्रस्’ झण्डा ।

यो हुलिया राष्ट्रिय झण्डा बोकेर ७७ वटै जिल्लाको पदयात्रा गरिसकेका लक्ष्मी नारायण शिल्पकारको हो । सोमबार माइतीघर मण्डलालाई दाँयातिर छोडेर मोडिँदै गर्दा शिल्पकारसँग जम्काभेट भयो । १२ फिट लामो डन्डीमा १० फिट लामो झण्डा फहराउँदै हिँडिरहेका शिल्पकारले जम्काभेटमै भने, ‘यो झण्डाले हामीलाई नेपाली हो भनेर चिनाएको छ ।’

आज २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । शिल्पकारले पनि भन्दै थिए, ‘यो झण्डा बचाउने ठूलो अभिभारा अहिलेको पुस्तालाई दिएर पृथ्वीनारायण शाह बिदा हुनुभयो । आज यत्तिका वर्ष भइसक्यो । उहाँलाई त हामीले सदा सम्झिरहेका छौँ । त्यसैले पनि यो झण्डालाई हामीले बचाउनुपर्छ । सबैलाई चिनाउनुपर्छ । मैले यही नै गरिरहेको छु । मलाई यसले दुखी पनि दिइरहेको छ । आफूले चाहेको काम गर्न पाउँदा प्रायः सबै नै खुशी हुँदा हुन् । म पनि यस्तै खुशी छु ।’

पेसाले सिकर्मी उनले आफ्नै श्रम र पौरखले काठमाडौंमा घर बनाएका छन् । त्यसैले त उनले सुनाए, ‘मलाई छानो र मानोको समस्या छैन । त्यसैले यो उमेरमा पनि यसरी म आफ्नो मनखुशी हिँड्न पाएको छु । छोराछोरी हुर्किसकेका छन् । घुम्न पाएको छु । झण्डा चिनाउन पाएको छु । यसैमा मलाई आत्मसन्तुष्टि पनि मिलेको छ ।’

शिल्पकारलाई चित्तदुखाइ छ । उनले सुनाउँदै थिए–‘म नेपालको ७७ वटै जिल्लामा पुगेँ । तर, कतिपय ठाउँमा अझैसम्म राष्ट्रिय झण्डा हो भनेर चिन्दैनन् रहेछ । मलाई त दुःख लाग्यो ।’ राष्ट्रिय झण्डाबारे बखान गर्नमा आफ्नो खुशी देख्ने शिल्पकारले आफूले निभाइरहेको अभिभारा अब युवा पुस्ताले लिनुपर्ने बताए । कुनै ठाउँमा कसैले ‘हामीले गर्नुपर्ने काम तपाईँ गर्दै हुनुहुन्छ’ भन्दा आफूलाई ठूलो खुशी मिल्ने बताएका शिल्पकारले भने, ‘युवामा सबै कुरा हुन्छ । सबै काम गर्ने युवा पुस्ताले नै हो । अब नेपाली राष्ट्रिय झण्डा चिनाउने काम पनि युवा पुस्ताले गर्नुपर्छ ।’

आन्तरिक तथा बाह्य पर्यटकहरुले सयौं तस्वीर खिचाएको सुनाउँदै शिल्पकार हर्षविभोर हुन्छन् । तस्वीर खिचाएबापत् कतिले आफूलाई पैसा छोड्ने गरेको बताउँछन् उनी । तर, आफूले पैसा कमाउनको लागि त्यो पेसा नरोजेको उनले सुनाए । ‘तस्वीर खिचाएबापत् कतिले पैसा दिन्छन् । मैले लिन्नँ’, शिल्पकारले सुनाए, ‘तर कतिले त जबरजस्ती गोजीमा हालेर हिँड्छन् । मैले मलाई नदिनुस् भनिदिन्छु ।’

पृथ्वीनारायणप्रतिको तपाईँको धारणा के हो ? भनेर सोध्दा उनले खासै केही भनेनन् । उनले भने, ‘अब पृथ्वीनारायण शाहको अभिभारा हामीसामु आएको छ । सबै कुरा त मन मनमै छ ।’

भिडिओ यहाँ हेर्नुस्ः–

प्रतिक्रिया