स्वस्थ उत्पादनका लागि आईपिएम पाठशाला

 

चितवन । खैरहनी नगरपालिकामा संचालित एकीकृत शत्रु जीव व्यवस्थापन (आईपिएम) पाठशालाको आईतवार अनुगमन गरिएको छ । नगरको वडा नम्वर १ मा आलु खेती र वडा नम्वर ३ मा बोडी खेतीमा आईपिएम पद्धतिद्वारा खेती गरिएको छ ।

विषादीको मात्रा न्युनीकरण गर्दै स्वस्थ वाली उत्पादनका लागि नगरपालिकाले आईपिएम पद्धतिलाई जोड दिएको हो । कृषकको प्रत्यक्ष सहभागीतामा जैविक प्रविधिलाई प्रोत्साहन गरी स्वस्थ उत्पादन लिने उदेश्यका साथ आईपिएम पद्धतिलाई जोड दिईएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख दिपेन्द्र अर्यालले जानकारी दिए । खैरहनी १ वहेरीमा आईपिएम पाठशालामार्फत विभिन्न जातका आलु लगाईएको छ ।

रासायनिक, प्रांगारिक र आईपिएम पद्धति मध्ये आईपिएमबाट केही उत्पादन घटे पनि स्वस्थ उत्पादन र खर्च कम भएको किसानहरुले अनुगमनका क्रममा अनुभव सुनाए ।

आईपिएम पाठशालामार्फत आफूहरुमा धेरै कुराको सिकाई भएकोसमेत उनीहरुले बताए । उता खैरहनी ३ को सिद्धीपुरमा बोडी खेती खासै प्रभावकारी भने देखिएनन् । माटोको अवस्था अफ सिजन भएकाले पनि आईपिएम पद्धतिमार्फत बोडी उत्पादनमा समस्या देखिएको छ ।

सो अवसरमा कृषक तरिका तथा आईपिएम तरिकाको तुलनात्मक परीक्षण, जातीय परीक्षण, रासायनिक र जैविक विषादीको प्रयोगका बारे किसानहरुसँग अनुभव साटासाट गरिएको थियो ।

खैरहनी नगरपालिका मेयर लालमणि चौधरीको नेतृत्वमा आर्थिक समिति संयोजक कारीराम चौधरी, खैरहनी १ का वडाध्यक्ष भुमी प्रसाद कँडेंल, कृषि शाखा प्रमुख दिपेन्द्र अर्याल, प्राविधिक सहायक धु्रव आचार्यको उपस्थितिमा आईपिएम कृषक पाठशालाको अनुगमन गरिएको थियो ।

प्रतिक्रिया