प्रचण्डलाई मन्त्री गौरीशंकरको प्रश्न–‘सडकबाट शहीदका सपना पूरा गर्न सक्नुहुन्छ ?’

काठमाडौं । पछिल्लो मन्त्रिमण्डल पुनर्गठनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका पूर्वमाओवादी नेता गौरीशंकर चौधरीले सडकबाट शहीदहरुका सपना पूरा नहुने बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नेकपा भेलालाई सम्बोधन गर्न धनगढी पुगेका मन्त्री चौधरीले विभाजित एक चिरा नेकपाको नेतृत्व गरिरहेका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इङ्गित गर्दै सडकबाट शहीदहरुका सपना पूरा नहुने बताएका हुन् । मन्त्री चौधरीले सम्बोधनका क्रममा भनेका छन्, ‘म प्रचण्डलाई सोध्न चाहन्छु, के सडकबाट शहीदहरुका सपना पूरा हुन्छ ?’

यस्तै राजनीतिक रुपमा नेकपा विभाजन हुँदा केही नेताहरुले प्रचण्डको समूह रोजेर गल्ती गरेको पनि मन्त्री चौधरीको तर्क छ । ‘केही साथीहरुले गल्ती गर्नुभयो’, मन्त्री चौधरीले भने, ‘पार्टी विभाजन हुँदा केही साथीहरु उतातिर लाग्नुभयो । तपाईँहरुले गल्ती गर्नुभयो ।’

छुटिँदा पनि प्रचण्डसँगै जानुपर्छ भन्ने केही नभएको बताउँदै मन्त्री चौधरीले प्रचण्डले आफूले शासनसत्ता हातमा लिँदासमेत शहीदका सपना पूरा गर्न नसकेको बताए । मन्त्री चौधरीले प्रश्न गरे, ‘के हिजो प्रचण्डले सत्ता सम्हाल्नुभएको होइन र ? खै त हिजो जनयुद्धमा दुःख पाएका जनताको समस्याको सम्बोधन गरेको ?

यसैबीच मन्त्री चौधरीले प्रचण्डलाई पनुः संस्थापन पक्षसँगै मिलेर जान अनुरोधसमेत गरे ।

प्रतिक्रिया