मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटिद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताएका हुन् ।

कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरे । प्रतिनिधि सभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकोले चुनाव तोकिएकै समयमा हुने उनको भनाइ छ ।

जिम्मेवारी टुंगो लगाउन माधव नेपालको संयोजकत्वमा कार्यदल
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलले पार्टीभित्रको विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप गृहकार्य गर्ने स्थायी कमिटी सदस्य मातृका यादवले मकालु खबरलाई जानकारी दिए । ‘अध्यक्ष कमरेड माधव नेपालको संयोजकत्वमा कार्यदल गठन भएको छ । मूलतः त्यसले पार्टीभित्रको जिम्मेवारीलाई नै केन्द्रमा राखे काम गर्नेछ’, पूर्वमन्त्रीसमेत रहेका कमिटी सदस्य यादवले भनेका छ्न ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि अघोषित रुपमा विभाजन भएको नेकपाले अहिले छुट्टाछुट्टै पार्टी कमिटीहरुको बैठक बोलाइरहेको छ ।

प्रतिनिधि सभा विघटन भएसँगै ३८ विधेयक निष्क्रिय
काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै प्रतिनिधि सभामा कायम रहेका ३७ विधेयक र प्रतिनिधि सभाले सन्देशसहित राष्ट्रिय सभामा पठाएको एक विधेयक गरी ३८ विधेयक निष्क्रिय बनेका छन् ।

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका ३८ वटा विधेयक निष्क्रिय बनेका छन् । विधेयक निष्क्रिय भएसँगै प्रतिनिधि सभाको मेहनत त खेर गएको छ नै, आगामी दिनमा यी विधेयकहरुलाई पुनः सुरुवातकै विन्दुबाट शुरु गर्नुपर्ने हुन्छ भने कानून बन्ने कुरामा पनि ढिलो हुने निश्चित भएको छ ।

प्रतिनिधि सभामा दर्ता भई वितरण भएका ५ वटा गैरसरकारी सहित १२ वटा विधेयक, सभामा प्रस्तुत मात्रै भएका ४ वटा विधेयक, राष्ट्रिय सभाबाट शन्देश पठाएर प्रतिनिधि सभामा टेबुल भएका ४ विधेयक, राष्ट्रिय सभाको सन्देशमाथि विचार गर्न बाँकी २ वटा विधेयक, प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधिन १० वटा विधेयक, प्रतिनिधि सभाका समितिका प्रतिवेदन हाउसमा पेश भएका ५ वटा विधेयक गरी जम्मा ३७ वटा विधेयक प्रतिनिधि सभामा विचाराधिन अवस्थामा रहेका थिए । त्यस्तै प्रतिनिधि सभाले शन्देशसहित राष्ट्रिय सभामा एउटा विधेयक पठाएको थियो ।

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेमाथि कारबाही माग गर्दै अनेमसंघको ज्ञापनपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै अनेमसंघले विभिन्न भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेको हो । गालीगलौज नरोकिए कानूनी उपचारमा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले चेतावनी दिइन् । गृहमन्त्री थापाले छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल–अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह एक(अर्काको विरोध, आलोचना गरिरहेका छन् । यसक्रममा राष्ट्रपति भण्डारीालाई पनि जोडेश अशोभनीय नाराबाजी गरिएकोप्रति चौतर्फी आलोचना गरिएको छ ।

सर्वोच्चलाई सभामुखको जवाफ : सरकार बन्ने परिस्थितिमा संसद विघटन गर्न मिल्दैन
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । सभामुख सापकोटाले आइतबार पठाएको लिखित जवाफमा जुन परिस्थितीमा प्रतिनिधि सभा विघटन गरियो त्यो परिस्थितीमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको दाबी गरिएको स्रोतले जनाएको छ ।

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार उल्लेख भएपनि संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद विघटन गर्न नमिल्ने जिकिर सहितको पत्र सर्वोच्चमा पठाइएको श्रोतले जनाएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी बैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् । ती सबै रिटमा एकै पटक सुनुवाई थाल्दै पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले सभामुख सापकोटासँग प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले गराएको अविश्वास प्रस्ताव दर्ताको समयसहितको कागजात पेस गर्न आइतबारसममको समय दिएको थियो । पुस २२ गतेबाट यो विषयमा निरन्तर सुनुवाइ गर्ने सर्वोच्चको तयारी छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले संविधानको धारा ७६ (७) अनुसार संसद विघटन गरेको बताएका थिए ।

४२१ जनामा संक्रमण, ६३७ जना निको हुँदा ८ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ४२१ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज (आइतबार) ६३७ जना संक्रमित निको हुँदा थप ८ जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा ३६७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ४८७ रहेको छ ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । संक्रमितमध्ये २ लाख ५४ हजार ४९४ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ८७७ पुगेको मन्त्रालयले जनाएको छ ।

‘कमरेडहरुलाई अझैसम्म चुच्चे नक्साले घोचिरहेको छ’
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेकपा नेताहरुलाई चुच्चे नक्साले अझैसम्म घोचिरहेको टिप्पणी गरेका छन् । आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)द्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई कार्की बैङ्क्वेट बबरमहलबाट सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो टिप्पणी गरेका हुन् ।

‘कतिपय कमरेडहरुलाई राष्ट्रवादी नेताको छवि बनाउनुभएका प्रधानमन्त्रीज्यूले गर्नुभएको कामले पोलेको छ । उहाँहरु प्रधानमन्त्रीज्यूको काम नै देख्न सक्नुहुन्न’, सम्बोधनकै क्रममा मन्त्री ढकालले भने, ‘कमरेडहरुलाई अझै चुच्चे नक्साले घोचिरहेको छ ।’

केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा देशले सबै क्षेत्रमा फड्को मारेको बताउँदै मन्त्री ढकालले तीन वर्षसम्ममा नेपालले सबै क्षेत्रमा आफूलाई अब्बल राख्न सकेको औंल्याए । मन्त्री ढकालले भने, ‘यो तीन वर्षमा देशले सबै क्षेत्रमा विकास र समृद्धिको पाइला चालेको छ ।’

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ
नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर बजारमा कीर्तिमानसहित नयाँ बर्षको स्वागत
नेपाली शेयरको कारोबार मापन गर्ने नेप्से परिसूचकले नयाँ कीर्तिमान सहित सन् २०२१ लाई स्वागत गरेको छ । सन् २०२१ मा कारोबार भएको पहिलो दिन आइतबार नेप्से ८८ दशमलव १२ अंकले बढेर अहिलेसम्मकै उच्च विन्दु २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार ५ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

कारोबार भएका सबै समूहका सबै परिसूचकमा हरियाली आएको दिन जीवन विमा समूहको परिसूचक सबैभन्दा धेरै ५५० दशमलव ९ अंकले बढेको दिन निर्जिवन विमा २६८ दशमलव ४, उत्पादन २ सय ६४ दशमलव ४, ब्यापार २ सय २१ दशमलव ५, र बैंकिङ समूह ७० दशमलव ९ अंकले बढेको छ ।

बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते
इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ ।

कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए ।

घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेवारी पनि नलिएको अधिकारीहरूले जनाएका छन् ।

 

प्रतिक्रिया