‘कमरेडहरुलाई अझैसम्म चुच्चे नक्साले घोचिरहेको छ’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेकपा नेताहरुलाई चुच्चे नक्साले अझैसम्म घोचिरहेको टिप्पणी गरेका छन् । आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)द्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई कार्की बैङ्क्वेट बबरमहलबाट सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो टिप्पणी गरेका हुन् ।

‘कतिपय कमरेडहरुलाई राष्ट्रवादी नेताको छवि बनाउनुभएका प्रधानमन्त्रीज्यूले गर्नुभएको कामले पोलेको छ । उहाँहरु प्रधानमन्त्रीज्यूको काम नै देख्न सक्नुहुन्न’, सम्बोधनकै क्रममा मन्त्री ढकालले भने, ‘कमरेडहरुलाई अझै चुच्चे नक्साले घोचिरहेको छ ।’

केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा देशले सबै क्षेत्रमा फड्को मारेको बताउँदै मन्त्री ढकालले तीन वर्षसम्ममा नेपालले सबै क्षेत्रमा आफूलाई अब्बल राख्न सकेको औंल्याए । मन्त्री ढकालले भने, ‘यो तीन वर्षमा देशले सबै क्षेत्रमा विकास र समृद्धिको पाइला चालेको छ ।’

यसैगरी मन्त्री ढकालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई जनतामा जान खुट्टा कमाएको आरोप लगाएका छन् । ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताउँदै मन्त्री ढकालले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले जे गर्नुभयो, ठीक गर्नुभएको छ । अब हामी ताजा जनादेशबाट पुनः देशलाई नयाँ उचाइ दिनेछौँ । तर, केही साथीहरुले भने जनतामाझ जानको लागि खुट्टा कमाइराख्नुभएको छ ।’

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा कोभिड उन्नाइसविरुद्ध डटेर लागेको र पछि आएर न्यूनीकरण गर्न सकेको बताएका मन्त्री ढकालले कानून मन्त्रालयको जिम्मेवारी आफूलाई हस्तान्तरण गर्ने सरकारप्रति धन्यवादसमेत दिए ।

प्रतिक्रिया