चालक अनुमतिपत्रकाे प्रयोगात्मक परीक्षा सुरु

  • रोसन दानी

काठमाडाैं । यातायात व्यवस्था कार्यालयले विगत नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आइतबारबाट सुरु गरेकाे छ । कार्यालयले ट्रायल परीक्षा चन्द्रागिरिस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.ली गुर्जुधारामा सुरू गरेको हो ।

काेराेना संक्रमणपछि आइतबार पहिलोपटक सेवा आरम्भ गरिएको यातायात व्यवस्था कार्यालय, ठुलाे भर्याङ्गले जनाएकाे छ ।कार्यालय प्रमुख सञ्जय थापाले कोभिड १९ का कारण रोकिएको फारम भरेका, लिखित परीक्षा पास भएका तर परीक्षा दिन नपाएका ८१५ जना परीक्षार्थी मध्ये पालो अनुसार ट्रायल दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

कार्यालय प्रमुख थापाले कोभिड १९ काे जोखिम कम गर्न स्वास्थ्य मापदण्ड पालना गराएका र एकचोटीमा तीनवटा कक्षामा १०-१० जना बस्ने व्यवस्था मिलाइएकाे जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापद्दण्ड लाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए । प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको तथा ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको बताए ।

९ महिनादेखि रोकिएको परीक्षा सञ्चालन भएपछि सेवाग्राही खुशी भएका छन् । आजैबाट कार्यालयले नयाँ दर्ता भिजिट मिति समेत तय गरेको छ । दैनिक ठुला र साना गरी ३ सय जनाले अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको छ।

सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । लामाे समयसम्म नखुल्दा लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि परीक्षार्थीले ट्रायल दिन पाएका थिएनन् ।

उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ ।

प्रतिक्रिया