चितवनमा प्रांगारिक फारम तथा अनुसन्धान केन्द्र स्थापना

चितवन । बागमती प्रदेश सरकारको अनुदानमा चितवनको खैरहनी ५ मा प्रांगारिक फारम तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

सरकारी जागिरपछि निवृत्त भएका हिमप्रसाद भट्टराईले दैबि आवासीय प्रांगारिक फारम तथा अनुसन्धान केन्द्र संचालनमा ल्याएका हुन् । सो केन्द्रको आज शनिवार बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे ।

प्रदेश सरकारले कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम अन्र्तगत सो केन्द्रलाई ५० लाख रुपैयाँ अनुदान दिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । सो अवसरमा कृषि मन्त्री लामाले कृषिलाई पर्यटनसँग जोडेर क्रियाकलाप संचालन गर्नु पर्ने बताए ।

प्रदेश सरकारले त्यसैका लागि यस प्रदेशका १० स्थानमा अनुसन्धान केन्द्रको स्थापना गरिएको बताए । चितवन कृषि कर्मको थलो हो मन्त्री लामाले भने – सौराहा आउने पर्यटकलाई कृषिका बारे जानकारी गराउन यहाँ ल्याई प्रचार प्रसार गर्नु पर्छ ।

मन्त्री लामाले कृषि उपज आयात घटाउन कृषिमा रोजगारी सृजना गर्नु पर्ने, कृषकलाई राज्यले सम्मान गर्नु पर्ने औँल्याए । केन्द्रको संचालनका लागि झण्डै २ करोड रुपैयाँ खर्च भएको संचालक हिमप्रसाद भट्टराईले बताए । केन्द्रले कृषिको तालिम, अनुसन्धान गर्न मद्यत गर्नेछ । यहाँ ४० जना अट्ने क्षमताको आवासीय सुविधा, तालिम हलको व्यवस्था समेत छ ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश कृषि मन्त्रालयकी सचिव डाक्टर मतिना जोशी वैद्य, कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र वहादुर प्रधान, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया