कोरोना कालमा आन्दोलनः होश नपुर्‍याए भयावह अवस्था आउन सक्छ !

काठमाडौं । हिजो आज केन्द्रिय राजधानी काठमाडौंका सडकदेखि प्रदेश र स्थानीयसम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा अहिले देशका विभिन्न ठाँउमा प्रदर्शन भइरहेका हुन् ।

सरकार विरोधी यी प्रदर्शन अझै चर्कंदै जाने देखिन्छन् । विभिन्न राजनीतिक दलहरूले आयोजना गर्ने यस्ता प्रदर्शनमा हजारौँको सहभागिता देख्न सकिन्छ । राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो भईरहेका प्रदर्शनमा न त कुनै सावधानी छ, न मास्कको प्रयोग, न त सामाजिक दुरी र जनस्वास्थ्यको मापदण्ड नै ।

राजनीतिक स्वार्थका लागि सडकमा आउनेहरुले आफ्नै स्वास्थ्यको भने कत्ति पनि ख्याल नगरेकाले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ । कोरोना संक्रमणका कारण सरकारले सभा सम्मेलन वा ठुलो कार्यक्रम गर्न अहिले पनि स्विकृति दिएको छैन् । तर विगत १० दिन यता दिनहु जसो सडकमा सर्वसाधारणको ठुलो भिड देख्न सकिन्छ ।

सडक प्रदर्शनमा के वालक, के वृद्ध सबैखाले मानिसलाई उतार्ने कोशिस आन्दोलनकारीले गरेका छन् । पूर्व प्रधानमन्त्रीहरुदेखि थुप्रै पूर्वमन्त्रीहरुको समेत सहभागीता भईरहेका यी आन्दोनलहरुमा कोरोना संक्रमण नहोस भन्ने सामान्य मापदण्ड समेत अपनाएको पाइदैन । दिनहुजसो भइरहेका यस्ता विरोध जुलुस र सभाका कारण संक्रमणको दर झन उच्च हुने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

भयावह अवस्था आउन सक्छ
अढाई लाख नेपालीलाई सङ्क्रमित गराइसकेको र १८ सयभन्दा बढीको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी कायम नै रहेको बेला भिडभाड र जुलुस गर्नु खतरनाक हुनसक्ने उनीहरुको चेतावनी छ । कोरोनाभाइरसबाट जोगिने मुख्य उपाय भनेको मास्कको प्रयोग र भौतिक दूरी रहेको छ ।

तर आन्दोलन गर्दा भौतिक दूरी कायम नहुने चिन्ता जनस्वास्थ्यविद्हरूको छ । कोरोनालाई रोक्ने राजनीतिक प्रतिबद्धता नै पूरा नभएको जनस्वास्थ्यका जानकार समिरमणि दीक्षितको तर्क छ । ‘मैले कुनै राजनीतिक आन्दोलनमा मात्र होइन जात्रा तथा अरू भिडभाड पनि नगरौँ भन्दै आएको छु,’ उनी भन्छन्–‘भिडमा एक त भौतिक दूरी कायम हुनसक्दैन अर्को चिच्याएर नाराबाजी गर्दा मास्क नै लगाएपनि थुकको छिटा एकअर्कामा सर्ने सम्भावना धेरै हुन्छ ।’

सुरक्षित रहन सुझाव
यस्तो बेलामा सकेसम्म आन्दोलनमा जानु नै हुँदैन यदि जानै परेको खण्डमा मास्क लगाउने र दूरी कायम गर्नुपर्छ । जुलुसमा सहभागी सबैले स्यानिटाइजरको प्रयोग तथा मास्क लगाउनु पर्ने अनि बोल्ने पालो आएका वक्ता बाहेक अरूले मास्क नखोल्ने गरेमा उचित हुने स्वास्थ्य विज्ञहरुको बताउँछन् ।

परीक्षणको परिमाणसँगसँगै अहिले पुष्टि हुनेहरूको सङ्ख्या पनि घटिरहेको छ । तर परीक्षण गराएकामध्ये अझैपनि १० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेकाले नेपालमा कोरोनाभाइरसको महामारी समुदायमा खतरनाकस्तरमा कायम नै रहेको बुझ्नुपर्ने उनीहरुको भनाइ छ ।

देशभित्र कोरोनाभाइरसविरुद्धका खोप कहिले आइपुग्लान् भन्ने पनि ठेगान छैन । त्यसैले जनस्वास्थ्यका दृष्टिकोणले यस्तो जटिल स्थितिमा रहेको नेपालजस्तो मुलुकमा महामारीका माझमा नाराजुलुस गर्दा होश पुर्‍याउन नसके भयावह अवस्था निम्तिने चेतावनी विज्ञहरूले दिएका छन् ।

प्रतिक्रिया