‘चीनसँग नेकपालाई मिलाउने दीर्घकालीन अस्त्र छैन’

काठमाडौं । नेपालमा अहिले चिनियाँ उच्चस्तरीय भेटघाट चलिरहेको छ । यहाँको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघोषित विभाजन भइसकेको अवस्थामा भएको यो भ्रमण तथा भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यसो त विगतका दिनहरुमा सत्तारुढ नेकपाभित्र देखिएको विवादबारे चिनियाँ कम्युनिष्ट पार्टीले चासो नदेखाएको भने होइन । यहाँसम्म कि, नेकपाभित्र सानो खटपट शुरु भयो कि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाली नेताहरुको निवास चहार्न थाल्छिन् ।

हुन पनि कुओ यौचोकै नेतृत्वमा तीन पटक चिनियाँ टोली आइसकेको छ । जुन भ्रमणको कुनै ठूलो उद्देश्य थिएन, थियो त उही नेकपाभित्रको विवाद समाधान ।

यसअघि गत मंसिर १४ मा मात्रै पनि त्यहाँको रक्षामन्त्रीले नेपालको भ्रमण गरेका थिए । तत्पश्चात् नेकपाभित्रको त्यसबेलाको समस्या केही समयको लागि साम्य पनि भएकै थियो । पुनः अहिले उनै कुओ नेपालको भ्रमणमा छन् । तर, यता राजनीतिक विश्लेषकहरुले भने लगातारको चिनियाँ टोलीको भ्रमणलाई ‘चिनियाँ रवैया’को रुपमा बुझ्छन् ।

त्यसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि ‘छापामार’शैलीमा सुइँकिएको चिनियाँ टोली अहिले नेपाली उच्च पदस्थ राजनीतिक व्यक्तिहरुलाई भेट्नमा व्यस्त छ । के अब यो भ्रमणले नेकपा पुनः एक ढिक्का हुन सक्छ ? यसको परिणाम कस्तो रहन्छ ? के यो टोलीले नेकपालाई मिलाउन सकेन भने अन्ततकत्वः नेकपा फुटेरै जाने हो ? यी यावत् प्रश्नहरुको जवाफ मकालु खबरले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग खोजेको छ । जुन, यहाँ प्रस्तुत छ ।

नेकपाले आफ्नो निर्णायक क्षमता गुमायो
विश्लेषक आचार्य भन्छन्, ‘नेकपाले आफ्नो निर्णायक क्षमता गुमायो । त्यसको फाइदा चीनलाई पुग्यो ।’ उनका अनुसार चीनले नेकपाबारे आफूले निर्णय लिनसक्ने हैसियत बनाएको छ ।

उनले थपेका छन्, ‘यहाँको कम्युनिष्टमा आउने उत्तरचढावलाई चीनले आफ्नो प्रष्ठिाको विषय बनायो । नेकपा राजनीतिक रुपमा चीनमाथि निर्भर रहन थाले ।’ आचार्यले चीनले नेपालबारे थुप्रै कुराहरु जान्न र बुझ्न बाँकी रहेकोसमेत बताएका छन्, ‘चीनले यहाँको संविधान बुझेको छैन । यहाँको समाज बुझेको छैन । यहाँको सार्वभौमसत्ता बुझेको छैन । तर, हस्तक्षेप भने गरिनै रहन्छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली जनताको भन्दा ठूलो प्रभाव चीनको
आचार्यको विश्लेषण यो पनि छ कि, ‘राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली जनताको भन्दा पनि चीनको प्रभाव ठूलो देखिन थाल्यो ।’

योसमेत चीनको विश्वास र प्रतिष्ठाको विषय बनेको बताएका आचार्यले चीनलाई नेकपालाई कसरी ‘रन’ गराउनुपर्छ भनेर पनि थाहा भएको तर्क गरे । ‘चीनलाई नेकपालाई रन गराउने विधि पनि थाहा छ’, उनले भनेका छन् ।

यो प्रकृतिको चीनको रवैया अन्य देशमा पनि
विश्लेषक आचार्यले आफ्नो विश्लेषणका क्रममा भनेका छन्, ‘चीनले यो खालका रवैया थुप्रै देशहरुमाथि देखाएको छ ।  भियतमान, लाओस, कम्बोडियालगायतका राष्ट्रमा पनि चीनले यही खालको रवैया देखाउँछ ।’

त्यसो त नेपाललाई चीनले यसरी आफ्नो हत्केलामा लिन थालेको धेरै समय भइसकेको छैन । ‘नेपाल मात्रै एउटा यस्तो देश थियो । जहाँ चाइनिजहरु यसरी सल्लाह अनि सुझावका पोको बोकेर जहाजबाट ओर्लिँदैनथे । तर, अब त्यो रहेन । जहिलेदेखि नेपाल रिपब्लिक भयो । त्यसयता नेपालाई पनि यही समस्याले चाप्यो । त्यसपछि नेपालप्रति चीन उत्ताउलो देखियो’, आचार्यले भनेका छन् ।

चिनियाँ नेताको भ्रमणपछि यहाँका नेताहरु केही दिनको लागि बाध्यताले मिल्छन्
नेकपाको पटक–पटकको विवादमा चीनका कोही न कोही प्रतिनिधि आउने बताउँदै आचार्यले चीनको सीपीसीको प्रतिनिधि आउनासाथ नेपाली नेताहरुले मिलेको नाटक गर्ने बताउँछन् । ‘अस्ति पनि मिलाएकै हो । तर, मिलाएको काम नलाग्ने रहेछ । चुनावमा पनि मिलाएर गएकै हो । अहिले जसको नेतृत्वमा भ्रमण चलिरहेको छ । त्यही मान्छे पनि तीन पटक आइसकेका छन् नि नेकपाको विवादलाई नै लिएर । तर, खोइ दीर्घकालीन रुपमा नहुने रहेछ । जहाज चढेर यसो हिमालय काट्नसाथ यहाँका नेताहरु पुनः बाझ्न थालिहाल्छन् ।’

एमसीसी र भारतीय खेमासँग चीन डराउँछ
आचार्य चीन एमसीसी र भारतीय खेमासँग डराएको तर्क गर्छन् ।

नेकपालाई मिलाएबापत् चीनले के फाइदा लिन्छ भन्ने सवालमा आचार्यले भनेका छन्, ‘चीन सुपरपावर हो । इकोनोमिकल्ली दुई नम्बरमा भए पनि उसलाई अहिले पनि सुपरपावर नै मानिन्छ । मिलीटरिल्ली पनि अगाडि नै छ । टेक्नोलोजीमा पनि अगाडि नै छ । अब सुपरपावर हुनेबित्तिकै साम्राज्यवाद कस्तो बनाउने भन्ने हुन्छ । खासगरी चीनले अब पावरसँग के जोडेको छ । यो चाहिँ नेपालको लागि दूर्भाग्य हो । नेपालको भू–अवस्थिति जुन ढङ्गले बसेको छ । जसरी बेलायतसँगको पुरानो सम्बन्ध हो । भारसँग जसरी धेरै सांस्कृतिक कुराहरुदेखि लिएर अन्य धेरै कुराहरु मिल्छ । चीनसँग केही पनि मिल्दैन । त्यसैले प्रत्यक्ष वा परोक्ष रुपमा चीनलाई फाइदा नै दखिन्छ । अहिलेको सरकारले एमसीसी पास गर्छ भन्ने एउटा डर छ । अथवा नेपाल चाहिँ भारतको खेमामा जान्छ भन्ने डर पनि छ चीनसँग । त्यसलाई रोक्नको लागि चीनले आफ्नो टूल्सको रुपमा नेकपालाई प्रयोग गरेको हो ।’

नेपालको संविधानसँग चीन अनविज्ञ
नेपालको संविधानसँग चीन अनविज्ञ भएको तर्क पनि आचार्यसँग छ ।

त्यसैकारण नेकपालाई चीनले दीर्घकालीन रुपमा मिलाउन नसक्ने उनको विश्लेषण छ । ‘चीनले नेकपालाई दीर्घकालीन रुपमा मिलाउन सक्दैन । त्यो लेभलको कुनै अस्त्र छैन चीनसँग ।’

चीनको अन्तिम प्रयास सफल हुँदैन
चीनको यो नेकपालाई पुनः जुटाउने अन्तिम प्रयास सफल होला त ? भन्ने प्रश्नको जवाफमा आचायले भने, ‘मिलाउन सक्दैन । योभन्दा अगाडि पनि देखिएकै हो । दीर्घकालीन रुपमा मिलाउन सक्दैन । चीनसँग त्यो अस्त्र छैन ।’

यस्ता खाले चीनको कदमले चीनप्रति विरोधी भावना जागृत मात्रै हुने बताउँदै आचार्यले नेकपाले आफ्नो निर्णायक क्षमता गुमाउन नहुने बताउँछन् ।

चिनियाँ टोलीले प्रधानमन्त्रीलाई कन्भिन्स् गर्न सक्नुपर्छ
यता नेकपा नेता तथा पूर्वमन्त्री मातृका यादवले यदि चिनियाँ टोली नेकपालाई फुटको दिशाबाट फर्काउन आएको हो भने सबैभन्दा पहिले प्रधानमन्त्रीलाई कन्भिन्स् गर्नुपर्ने तर्क गर्छन् ।

चिनियाँ टोलीको दौडधुप चलिरहेकै समयमा मकालु खबरसँग कुराकानी गर्दै नेता यादवले भनेका छन्, ‘उहाँ (चिनियाँ टोली)को मनसाय भनेको नेकपालाई मिलाउने नै हो । यदि उहाँहरु मिलाउनै आउनुभएको हो भने सबैभन्दा पहिले प्रधानमन्त्रीलाई मनाउनुपर्छ ।’

त्यसो त यादवले चिनियाँ टोलीको यो प्रयास सफल हुनेमा आफूलाई शंका लागेको पनि सुनाउँछन् । ‘टोलीको यो भ्रमणले सकारात्मक परिणाम दिन्छजस्तो लाग्दैन । उहाँहरुको चाहना पूरा हुँदैन ।’

 

प्रतिक्रिया