मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

राष्ट्रपति भण्डारीद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

फाइल तस्विर

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । यसअघि बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

 

ओलीलाई असारमै ठेगान नलगाउँदा दाहाल–नेपाल सडकमा बस्नुपर्‍यो’
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत असारमै ठेगान नलगाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपला सडकमा बस्नुपरेको बताएका छन् ।

आइतबार जसपाद्वारा आयोजित जुलुसलाई रत्नपार्कको शान्ति बाटिकामा सम्बोधन गरेका अध्यक्ष भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै गत असारमै ठेगान नलगाउँदा अहिलेको संकट आइलागेको बताएका हुन् ।

यस्तै अध्यक्ष भट्टराईले ओलीले विसं २०१७ सालको इतिहास दोहोर्याएको समेत बताएका छन् । ‘१५ सालमा बनेको संविधान राजा महेन्द्रले स्वीकार गरे । त्यसमै टेकेर १७ सालमा संसद विघटन गरे । जसका कारण ३० बर्ष लडाइँ गर्नुपर्यो । ५९ सालमा उनकै छोरा राजा ज्ञानेन्द्रले पनि त्यसै गरे । अहिले ओलीले पनि त्यसै गरेर इतिहास दोहोर्याएका छन् ।’

सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउँछौँ : स्वास्थ्यमन्त्री त्रिपाठी

फाेटाे फाइल

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निः शुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए ।

खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत उनले दाबी गरे । कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत उनले गरे ।

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने मन्त्री त्रिपाठीको भनाइ छ । उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु, ४८१ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाका मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज (आइतबार) देशभर ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३१ जना निको भएका छन । आज क्वारेन्टिनमा ३६९ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ४९३ पुगेको छ ।

आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । संक्रमितमध्ये २ लाख ४९ हजार ८६३ जना डिस्चार्ज भइसकेका छन् भने मृतक संख्या १ हजार ८२५ पुगेको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक लक्षमण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड(माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बताइन्छ । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

कञ्चनपुरको नेकपा पार्टी कार्यालयमा ओली, नेपाल-प्रचण्ड पक्षबीच झडप
कञ्चनपुरस्थित नेकपा पार्टी कार्यालयमा झडप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल-पुष्पकमल दाहाल प्रचण्ड पक्षबीच झडप भएको हो ।

कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी चलिरहेको थियो । नेता भीम रावल पनि उपस्थित हुँदै थिए । ओली पक्षका नेतारकार्यकर्ताले कार्यक्रम रोक्न खोज्दै तालाबन्दी गरेपछि झडपको स्थिति सिर्जना भएको हो । अहिले ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले सर्वत्र नेकपा दुई समूहमा विभाजन भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलहरुले प्रदर्शन गरिरहेका छन् । दाहाल(नेपाल पक्ष पनि दुई दिनअघि सडकमा उत्रिएको थियो ।

प्रहरी र विप्लव समूहबीच संखुवासभामा गोली हानाहान
संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूहबीच गोली हानाहान भएको छ ।

संखुवासभाको चैनपुर–४, मैदानेमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि लक्षित गरी विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेको र प्रहरीले पनिगोली चलाएको स्रोतले बताएको छ ।

नवनियुक्त ऊर्जामन्त्री भन्छन्– एमसीसी सम्झौता लागू गर्नुपर्छ
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको भन्दै उक्त सम्झौता लागू गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) पदभार ग्रहणका क्रममा उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भनिन्( ‘एमसीसी सम्झौता नेपालको हितमा छ । देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन पनि सकिन्छ, हुबहु लागु गर्नुपर्ने भन्ने हुँदैन । तर यसलाई लागू चाहीँ गर्नुपर्छ ।’

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

फाेटाे फाइल

पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया