‘टोल–टोलका कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएर केही हुँदैन’

काठमाडौं । अन्ततः सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा विभक्त भएका छन् । ‘फुट’को आधिकारिक घोषणा पार्टीले नगरे पनि नेकपा विभक्त भएको भने पक्का हो । खासगरी गत ५ पुषमा पहिलो वरीयताका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुशी प्रतिनिधि सभा विघटन गरेपछि निम्तिएको राजनीतिक सङ्कटकै कारण नेकपा फुटेको हो भनेर नेकपाकै नेताहरुले बताउँदै आएका छन् ।

त्यसअघिका आन्तर कुन्तर राजनीतिक घटनाक्रम जस्तो भए पनि अहिले बाहिरबाट हेर्दाको दृश्य भने प्रतिनिधि सभा विघटन नै हो । जब ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिन्, तब नेपाली राजनीति उथलपुथल भयो । परिणामतः नेकपा दुई चिरा भयो ।

त्यसपछि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईतिर भए, नेतृत्वले बाटो मोडेपछि पछि हिँड्नेहरु त उतै नहिँडी सुखै भएन ।

त्यसपछि सिर्जित विभिन्न राजनीतिक परिवेशका कारण मंगलबार ओली–दाहाल पक्षले छुट्टाछुट्टै आफू निकटका केन्द्रीय समितिको बैठक बोलायो । बिहान ९ बजे बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दियो । त्यति मात्रै होइन, बैठकले ५ सय ५६ जनालाई केन्द्रीय समितिमा समेत ल्यायो भने यता दिउँसो १ बजे बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको दाहाल पक्षीय केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष बनायो । जहाँ, दुई अध्यक्षको वरीयता एकै हुने भनी निर्णय पनि भयो ।

त्यसो त दुवै पक्षले नै बैठक बोलाइ आफूखुशी निर्णय गरिरहेको अवस्थामा वैधानिकताको प्रश्न पनि उत्तिकै उठिरहेको छ । दुवै पक्ष आफू वैधानिक भएको बताउँदै आफूसँग उपलब्ध प्रमाणसहित निर्वाचन आयोग धाइरहेका छन् । यी यावत् घटनाक्रमबीच अब नेकपा कसरी अगाडि बढ्छलगायतका प्रश्न हामीले नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई सोधेका छौँ ।

अन्ततः नेकपा दुई चिरा नै भयो हैन ?
जति गर्दा पनि नभएपछि के गर्नु त ? जोगाउन खोज्दा-खोज्दै विभाजन हुन्छ भने कसैले केही पनि गर्न सक्दैन । कुनै पनि व्यक्तिले एकतर्फी रुपमा पार्टी चलाउन खोज्छ, सरकार चलाउन खोज्छ भने अब त्यहाँ के भन्ने ? परिणाममा आउने यी यस्तै नै हो । बैठक बसौं भन्दा, सहमति गरौं भन्दा नमानेपछि यस्तो हुन्छ । हाम्रो प्रधानमन्त्रीले संविधानलाई कुल्चिनुभयो । जनमतलाई बेवास्ता गर्नुभयो । लोकतन्त्रमाथि प्रहार गर्नुभयो । हामी बालुवाटारमै गएर पनि उहाँलाई एक दुई घण्टा कुर्नैपर्ने, उहाँले आफैँलाई मात्रै ‘सुप्रीम’ ठान्नुभयो अनि यस्तो भयो । अब नचाहँदा नचाहँदै भयो, के भन्नु र ?

अब नेकपा कसरी अगाडि बढ्छ त ?
अब हामीले केन्द्रीय समितिको बैठक बसिसकेका छौं । हामी अल्पमतमा छैनौं । हिजैमात्रै पनि हामी ३ सय १५ जनाले हस्ताक्षर गरिसकेका छौं । प्रधानमन्त्रीले नि देख्नुभयो होला नि कता बहुमत छ भनेर । हामी अगाडि बढिसक्यौं । अरुको कुरा धेरै के गर्नु ?

हिजोको तपाईँहरुको बैठकलाई त प्रधानमन्त्रीले आधिकारिक होइन भनेर भन्नुभयो नि ?
सबैभन्दा पहिले त बहुमत कता छ भनेर हेर्नुपर्छ । किनकी, यो लोकतन्त्र हो । लोकतन्त्रमा बहुमतकै कदर गर्नुपर्छ । केन्द्रीय समिति कति सदस्यीय हो भनेर हेर्नुपर्यो । अनि मलाई कतिले साथ दिन्छन् भनेर पनि हेर्नुपर्यो । यतिकै जे मन लाग्यो त्यही बोल्दै हिँड्ने, अरुलाई तथानाम भन्ने, सबै आफूखुशी चलाउन खोज्ने । यस्तो प्रवृत्तिले गाह्रो बनाउँछ । हिजै पनि खै कति कति जना पो केन्द्रीय समितिमा मनोनयन गर्नुभयो रे । त्यो टोल–टोलका कार्यकर्तालाई एकैचोटी केन्द्री सदस्य बनाएर पछि के हुन्छ ? पार्टीको भविष्य, पार्टीको सिद्धान्त सबै हेर्नुपर्दैन ?

प्रधानमन्त्रीले तपाईँहरुलाई आधिकारिक होइन भन्नुभयो, तपाईँहरु पनि हच्किनुभयो र निर्वाचन आयोग धाउँदै हुनुहुन्छ । यदि तपाईँहरु बहुमत नै हो र आधिकारिक नै भएको भए यी सब किन ? स्वतः तपाईँहरु माथि होइन ?
होइन, समस्याको सामना त जसरी पनि गर्नुपर्छ भन्ने हाम्रो ध्येय हो । प्रतिवाद त गर्नैपर्यो नि । पछि हामी वैधानिक समितिमाथि पनि अवैधानिकताको ‘ट्याग्’ भिराइदिनु पनि सक्नुहुन्छ नि उहाँले त । उहाँको बानी–ब्यहोरा थाहा पाइहाल्नुहुन्छ तपाईँहरु पनि । त्यसैले आवश्यक पाइला चालेका मात्रै हौं हामीले । हामी डराएको र हच्किएको होइन ।

तपाईँहरु आ–आफूसँग भएको आधिकारिकताको प्रमाणसहित निर्वाचन अयोग धाइरहनुभएको छ, तपाईँको विचारमा निर्वाचन आयोगले कसलाई वैधानिकता दिन्छ ?
अब निर्वाचन आयोग भनेको निष्पक्ष र पक्षपाती नजिर नभएको एउटा संस्था हो । यसले सही निर्णय लिन्छ । बहुमत हेर्छ । हामी स्पष्ट बहुमतमा छौं । त्यसैले वैधानिकता त वैधानिकलाई नै दिने हो । जुन, हामी हौं ।

त्यसो भए निर्वाचन आयोगले वैधानिकता दिनेमा तपाईँहरु ढुक्कै हुनुहुन्छ ?
हामी ढुक्कै छौँ ।

प्रतिक्रिया