मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

देशभक्तिमा के तागत हुन्छ, त्यो हामी देखाउँछौँ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब आँधी तुफानका रुपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा प्रम ओलीले यस्ताे बताएका हुन् । आफ्नो समूहले राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्ने उनकाे भनाइ छ ।

यस्तै उनले एकताको बलको, एकताबद्ध सक्रियताको तागत देखाउने समेत दाबी गरेका छन् ।

प्रम ओलीले सरकारका राम्रा कामहरुलाई समेत सकेसम्म ओझेलमा पार्ने, बंग्याई टिङ्ग्याई बिरूप बनाएर कुप्रचार गर्ने, विपक्षी र विरोधीलाई समेत उछिलेर सरकारलाई बदनाम गर्ने कार्य संगठित र योजनाबद्ध ढंगले भइरहेकाे समेत बताए ।

ओलीलाई पार्टी अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई दुईतिहाईले केन्द्रीय अध्यक्षबाट हटाउने दाहाल –नेपाल समूहको निर्णय छ । मंगलबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट ओलीलाई हटाएको घोषणा गरेको हो ।

दाहाल–नेपाल पक्षको बबरमहलमा जारी बैठकमा नेता भीम रावलले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव पारित भएको हो । दाहाल नेपाल समूहको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको सहभागी नेताहरुले बताएका छन् ।

माधव नेपाललाई पार्टी अध्यक्ष र महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पारित
काठमाडौँ । नेकपाको दाहाल– नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी ओलीलाई हटाएर पार्टी अध्यक्ष नेपाललाई बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले मात्रै दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् । बैठकमा दाहालले विधानको व्यवस्थाअनुसार नेपाललाई अध्यक्ष बनाइएको बताए ।

आजको बैठकले पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

‘वामदेवजी र थापाजीसँग मेरो भावनात्मक सम्बन्ध छ, उहाँहरू यतै आउनुहुन्छ’

|केन्द्रीय कमिटी बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्वीरः विकास अर्याल, मकालु खबर|

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष बामदेव गौतमलाई पनि आफ्नो समूहमा आउन आह्वान गरेका छन् । अहिलेसम्म तटस्थको अवस्थामा रहेर कुनै पनि पक्षको भेलामा सहभागीता नजनाएका बादल र गौतमलाई मंगलबारको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नो समूहमा आउने विश्वास व्यक्त गरे ।

बैठकमा सम्बोधनका क्रममा उनले भनेका छन् – ‘रामबहादुर थापा बादलसँग आज बिहान पनि छलफल भयो । वामदेवजी र थापाजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु ।’

यस्तै अध्यक्ष दाहालले ६५ प्रतिशत केन्द्रीय सदस्य बैठकमा उपस्थित भएको भन्दै निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक रहेको बताए । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक नभएको उनको ठहर छ । सम्बोधनका क्रममा उनले झलनाथ खनाल र माधव कुमार नेपालको प्रशंसा समेत गरे ।

मंगलबार थप ७२२ जनामा कोरोना पुष्टि हुँदा ९६६ जना निको भए थप ३ जनाको मृत्यु

|सांकेतिक तस्वीर|

पछिल्लो २४ घण्टामा देशभर थप ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यस्तै मंगलबार संक्रमितमध्ये ९६६ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १ हजार ७९८ पुगेको छ । आज क्वारेन्टिनमा ४१३ जना रहेका छन् ।

पछिल्लो अपडेटसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । संक्रमितमध्ये २ लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् । सक्रिय संक्रमित संख्या ७ हजार ७२९ रहेको छ ।

ओली समूहको निर्णय – ०७८ मंसिरमा महाधिवेशन

|प्रधानमन्त्री पक्षीय केन्द्रीय कमिटी बैठक। तस्वीरः प्रधानमन्त्री सचिवालय|

सत्तारूढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टी अधिवेशन २०७८ को मंसिरमा गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

बालुवाटारमा जारी ओली समूहको बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

बैठकले यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गरी उनको ठाउँमा प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । यस्तै आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि बनाएको छ ।

अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त
अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व अर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा मंगलबार खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्री खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

संसद विघटनविरुद्ध नेकपा सांसदहरूद्वारा सर्वोच्चमा रिट
संसद विघटनविरुद्ध रिट निवेदन लिएर सत्तारूढ नेकपाका सांसदहरू सर्वोच्चमा पुगेका छन् । मंगलबार नेकपा सांसदहरूले संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्चमा नेकपाका सांसदहरू देव गुरुङ, शशी श्रेष्ठ, कृष्णभक्त पोखरेल र रामकुमारी झाँक्री पुगेका थिए । सांसद श्रेष्ठका अनुसार रिट दर्ता भइसकेको छ । उक्त रिटमा ९० जना सांसदहरूले सहमती जनाएका छन् ।

गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचनको मिति तोकेकी थिइन् । संसद विघटनपछि अहिले उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक
काठमाडौं । सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर जान पनि अनुरोध गरेको छ। यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहेका सबैलाई अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

बाइडेनले लगाए कोरोना खोप, टीभीबाट प्रत्यक्ष प्रसारण
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोटेकको कोरोना खोपको पहिलो डोज लगाएका छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनको भनाई छ । यो खोप कार्यक्रमको श्रेय ट्रम्प प्रशासनलाई दिनुपर्ने उनले बताए । बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया