नेपाल-दाहाल समूहसँग गाैतमले भने- ‘दुई–चार दिन सोच्न दिनुस्’

काठमाडौँ । सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गाैतमले तत्काल कुनै समूहमा नजाने अडान कायमै राखेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहसँगकाे छलफलका क्रममा नेता गाैतमले आफ्नो पुरानै अडान कसेका हुन् । यसअघि प्रम एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी नभएका गाैतमले नेपाल-दाहाल पक्षकाे बैठकमा पनि नजाने निर्णय गरेका छन् ।
आज (मंगलबार) बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल नेता गौतमलाई भेट्न उनको निवास गएका थिए । गौतमलाई दिउँसोको स्थायी र केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन उनीहरूले आग्रह गरेका थिए ।
तर, गौतमले आजका कुनै बैठकमा सहभागी नहुने बताएका छन् । गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई दुई–चार दिन सोच्ने समय दिनुस् । अहिले कुनै बैठकमा पनि जान्नँ । पछि निर्णय गर्छु ।’
अध्यक्ष दाहाल र नेपाल पक्षकाे स्थायी कमिटी बैठक जारी छ भने अहिले एकैछिन पछि केन्द्रीय कमिटीको बैठक बस्दैछ । अर्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैकठ बालुवाटारमा जारी छ ।








