‘केपी कमरेडलाई गणतन्त्र बोझ भइसक्यो’

काठमाडौं । दुई फरक धारका नेपाली कम्युनिष्ट दलहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बेला–बेला चर्को विवाद देखिने गर्छ । त्यसरी उत्कर्षमा पुगेको विवाद नाटकीय रुपमा साम्य पनि भएका छन् । तर, पछिल्लो पटक पार्टीभित्र देखिएको विवाद भने अलिकति मथ्थरसमेत भएको छैन । मथ्थर बनाउनुको साटो नेता/नेतृत्वहरु झनै विवाद थपेको थप्यै गरिरहेका छन् । फलतः विवाद अर्कैतिर मोडिँदै गएको छ ।

खासगरी देशको प्रधानमन्त्री तथा सत्ताधारी दलका अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमका कारण पार्टीभित्र समस्या निम्तिने गरेको नेकपाकै नेताहरुले बताउँदै आएका छन् । ‘पत्र युद्ध’ हुँदै प्रतिवेदन अनि अध्यादेशमा आएर ठोक्किएको नेकपा विवादको मिलन बिन्दु कहाँनेर छ भनेर नेताहरु नै अन्यौलमा छन् ।

मूलतः ओलीले गत मंगलबार आफूअनुकूल राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएपछि नयाँ मोड लिएको नेकपा विवाद अब केन्द्रीय कमिटीको बैठकसम्मै पुग्ने निश्चितजस्तो देखिन्छ । किनकी, ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्छन् भने दाहालले कुनै पनि हालतमा फिर्ता नलिने अडान दोहोर्याउँछन् । यो शृङ्खला लम्बिँदै गयो भने विवाद केन्द्रीय कमिटीको बैठकसम्मै पुग्ने निश्चित छ ।

केन्द्रीय सचिवालयले पनि सुल्झाउन नसकेको विवाद स्थायी कमिटीले टुङ्गो लगाउला भन्ने ? यसमा नेताहरु स्थायी कमिटीले पनि काम गर्ने बताएपनि अहिलेसम्म यो खालको कुनै गुण देखिएको छैन । योबीचमा स्थायी कमिटी बैठक तीन पटक बसिसकेको छ । पुनः बैठक ५ गतेका लागि समय तोकिएको छ । यसअघि गत १ गते बसेको बैठकमा ओली उपस्थित भएका थिएनन् । ३० गतै नै अध्यादेश जारी गराएका ओली १ गतेको बैठकमा पूर्वनिर्धारित समयमा उपस्थित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब १ घण्टाको छलफल गरेपछि मात्रै पुनः अपराह्नमा शुरु भएको बैठकमा उपस्थित भएका थिए ।

बैठकले ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिएको थियो भने ओली फिर्ता लिनको लागि सहमतसमेत थिए । तर, अध्यादेश फिर्ताको प्रक्रिया अघि नबढाइ नै ओलीले पुनः बिहीबार साँझ संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठक बोलाउनेबारे दाहालले आपत्ति जनाएपछि बैठक स्थगित भएको थियो ।

यता ओलीको अध्यक्ष दाहालले गत २८ कात्तिकको केन्द्रीय कमिटी बैठकमा पेश गरेका १९ पृष्ठ लामो प्रतिवेदन फिर्ता नभइकन आफू उपस्थित नहुने अडान कायमै छ भने दाहालको फिर्ता नहुने अडान कायमै छ । त्यसो त अब पार्टी विवादको मिलन बिन्दु कहाँ भेटिन्छ त ? भन्ने प्रश्न प्रधान रह्यो । ‘बैठकमा पेश भइसकेको डकुमेन्ट् फिर्ता हुँदैन । सहमति नै भएपनि असहमति नै भएपनि प्रस्तावमाथि पार्टी कमिटी बैठकमा सहर्ष रुपमा छलफल हुनुपर्छ । यसैगरी मिलन बिन्दु भेटिन्छ ।’ स्थायी कमिटी सदस्य तथा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले मकालु खबरसँगको अन्तरवार्ताका क्रममा भनेका छन् ।

ओलीका लागि गणतन्त्र बोझ भइसक्यो
प्रधानमन्त्री ओली संघीयता मन नपराउने नेता भनेर विभिन्न समयमा विभिन्न आलेखहरु आउने गर्दछन् । खासगरी पछिल्लो पटक कर्णाली प्रदेशको समस्याबारे दिएको अभिव्यक्तिले पनि ओली त्यस्तै हन् भन्ने सवाललाई थप बल पुर्यायो । यता नेतृ शाक्यले ओली गणतन्त्रको लागि चाहिने नेता नभएको बताएकी छन् । ओली गणतन्त्रका लागि सुहाउने नेता नभएको बताएकी नेतृ शाक्यले थप भनेकी छन्, ‘ओलीका लागि गणतन्त्र बोझ भइसक्यो ।’

ओली विचारमा अस्पष्ट भएको बताउँदै नेतृ शाक्यले ओलीले जनताको मुद्दालाई गुमनाम पारेको पनि बताइन् । ‘उहाँले तमासा मात्रै देखाइबस्नुहुन्छ । पार्टीको सिद्धान्त सोच्नुहुन्न, जनताको दुःख बुझ्नुहुन्न’, नेतृ शाक्यले भनेकी छन्, ‘उहाँ (प्रधानमन्त्री)ले निरङ्कुश शैली अपनाउँदै अगाडि बढिरहनुभएको छ ।’

प्रधानमन्त्री आफैँ भ्रष्टाचारीको संरक्षण गर्नुहुन्छ
पछिल्लो पटक सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेसनलको दक्षिण एसिया प्रतिवेदनमा ओली सरकारले भ्रष्टाचारलाई बढावा दिएको उल्लेख छ । उक्त प्रतिवेदनअनुसार नेपालका करिब ५५ प्रतिशत भन्दा बढी जनताले नेपालमा भ्रष्टाचार बढेको बताएका थिए । यता नेतृ शाक्यले पनि उही ‘भर्जन’दोहोर्याएकी छन् । ‘प्रधानमन्त्री सधैं आफैँले गलत निर्णय लिनुहुन्छ । हामीले उहाँलाई सचेत पनि गराएकै छौं । खबरदारी पनि गरेका छौं । उहाँ आफैँ भ्रष्टाचारीको संरक्षणमा उत्रिनुहुन्छ । आलोचनासमेत गरेका छौं । तर, उहाँलाई केहीले पनि छुँदैन’, नेतृ शाक्यले भनिन्, ‘केही गरे पनि उहाँलाई सुधार्न सकिँदैन । उहाँ सुध्रिनुहुन्न ।’

यस्तै नेतृ शाक्यले प्रधानमन्त्री नसच्चिए पार्टी कमिटीले उनीविरुद्ध निर्मम निर्णय गर्ने संकेतसमेत गरिन् । उनले भनेकी छन्, ‘उहाँले पार्टी निर्णय मान्नुहुन्न । सहपाठीको सुझाव नै लाग्दैन उहाँलाई । बैठकमै आउनुहुन्न । अनि कसरी चल्छ ? यस्तो प्रवृत्तिका मान्छेविरुद्ध पार्टी कमिटी बैठकहरुले निर्णय गर्नुपर्छ । अब पार्टी कुरेर बस्दैन ।’

बामदेव गौतमलाई ओलीले खेला’को खेल्यै
गत १ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई आफ्नो कित्तामा उभ्याउने प्रयासस्वरुप प्रधानमन्त्री बनाइदिने आश्वासन दिए ।

अहिले अध्यक्ष दाहाललाई दह्रो साथ दिइरहेका बामदेवले ओलीले आफूलाई धोका मात्रै दिने गरेको बताउँदै आएका छन् । यसअघि पनि ओलीले गौतमलाई प्रधानमन्त्री बनाइदिने भनी भनेका थिए । प्रधानमन्त्रीका रहरे गौतमले पनि मख्ख परेर ओलीलाई साथ दिएका थिए ।

केन्द्रीय सचिवालयमै पनि अल्पमतमा परेका ओलीले पुनः गौतमलाई आफ्नो कित्तामा उभ्याउने प्रयासस्वरुप ‘प्रधानमन्त्री कार्ड’ फालेका हुन् । यसै सन्दर्भमा नेतृ शाक्यले प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई खेलाएको खेलाएकै गरेको बताइन् । नेतृ शाक्यले भनेकी छन्, ‘१ गते पनि प्रधानमन्त्रीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाइदिने भन्दै भन्नुभयो । आफूतिर तान्ने प्रयासस्वरुप यो भन्नुभएको होला । गौतमलाई ओली कमरेडले खोलाएको खेलाएकै गर्नुहुन्छ । तर, ओलीले मात्रै चाहेर कहिल्यै पनि बामदेव कमरेड प्रधानमन्त्री बन्नुहुन्न ।’

पार्टी विवादले जनताको समस्या सधैं ओझेलमा
‘तपाईँहरु त बाझ्नुहुन्छ, मिल्नुहुन्छ । यसमै तपाईँहरुको मन, मस्तिष्क र समय खर्चिइन्छ । नागरिकको समस्याबारे कहिल्यै तपाईँहरुले ध्यान दिनुभएको छ ?’ भन्ने जिज्ञासामा नेतृ शाक्यको जवाफ थियो–‘यसलाई स्वीकार्नुपर्छ । पार्टीभित्रको अन्तरद्वन्द्वका कारण जनताहरुको दुःख अनि समस्यालाई ओझेलमा राखेको छ । नेतृत्व नै त्यस्तो खालको भएपछि त के नै लाग्दोरहेछ । हामीले आवश्यक परामर्श अनि सल्लाह सुझाव त दिएकै छौं । पार्टीभित्रको किचलोको कारणले जनताका मुद्दा ओझेलमा परेको सत्य हो । यसलाई स्वीकार्नुपर्छ ।’

यसैबीच नेतृ शाक्यले पछिल्लो समय दलभित्र पनि अलोकतान्त्रिक प्रवृत्ति हावी भएको बताएकी छन् । यसले कसैलाई पनि राम्रो नगर्ने बताएकी उनले भनिन्, ‘यस्तो प्रवृत्तिले कसैलाई पनि राम्रो गर्दैन । त्यसैले यस्तो प्रवृत्तिलाई तत्काल हटाउन जरुरी छ ।’

अध्यादेश फिर्ता लिनैपर्छ
१ गतेको नेकपा स्थायी कमिटी बैठकमा ‘फिर्ता लिन्छु’ भनेर प्रतिबद्धता जनाएका ओलीले अहिलेसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको कुनै पनि प्रक्रिया अघि बढाएका छैनन् । जबकी, बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमासमेत अध्यादेश फिर्ताबारे कुनै छलफल भएको छैन । अन्य मन्त्रीहरुले अध्यादेशबारे छलफल हुने बताएपनि प्रधानमन्त्री ओलीले अध्यादेशबारे कुनै प्रसङ्ग नै निकालेनन् । त्यसपछि बैठक यत्तिकै सकिएको थियो ।

यसै सवालमा नेतृ शाक्यले भनिन्, ‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने कुनै छाँकाट देखाउनुभएको छैन । तर, उहाँले अध्यादेश फिर्ता लिनैपर्छ । अहिलेसम्मको उहाँको कदमले त अध्यादेश फिर्ता हुन्छ भनेर ढुक्क बस्ने स्थिति छैन । तर, जुनै हालतमा भए पनि उहाँले फिर्ता लिनैपर्छ ।’

विचार र सिद्धान्त नमिलेर नेताहरु बाझेका होइनन्
कतिपय राजनीतिक विश्लेषकहरुले दुई फरक विचार र सिद्धान्त भएका दलबीच गठबन्धन भएर एउटै मार्गमा हिँड्नुपर्ने भएकोले अहिलेसम्म नेकपाभित्र विवाद तथा तिक्तताको शृङ्खला देखिने गरेको बताउँछन् ।

तर, यता नेतृ शाक्यलाई भने त्यस्तो लाग्दैन । वैचारिक पाटो र सैद्धान्तिक पाटो नमिलेर यस्तो भएको हो ?भन्ने प्रश्नको सामना गर्दै नेतृ शाक्यले भनकी छन्, ‘मलाई चाहिँ त्यस्तो लाग्दैन । हिजो जबजको कुरा थियो । प्रचण्ड पथको कुरा थियो । समाजवादको कुरा आयो । हामीले त्यो सबै विषयमा कुराकानी गरेकै हौँ । त्यसपछि नै गठबन्धन गरेका छौं । त्यसबेला सक्रियता देखाउने पनि केपी कमरेड नै हुनुहुन्थ्यो । अहिले आएर त प्रधानमन्त्री बन्नको लागि मात्रै त्यसरी सक्रियता देखाउनुभएको रहेछ भन्ने पनि दखियो ।’

प्रतिक्रिया