नेकपा स्थायी कमिटी बैठक : मुख्य छलफलको एजेण्डामा ‘अध्यादेश’

काठमाडौं । गत २१ मंसिरबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठक आज तेस्रो पटक बस्दैछ । यसअघि गत २८ गते बसेको बैठकले नेकपा नेता तथा पूर्व राजदूत कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै आजसम्मको लागि स्थगित भएको थियो । अब आजको बैठक कसरी अगाडि बढ्छ ? भन्ने विषय प्रधान देखिएको छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु हुँदैछ ।

यसभन्दा अगाडिको नेकपा किचलो त छँदै नै थियो । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएका अगाडिको कार्यसूचीलाई छायामा राखेजस्तो देखिन्छ । त्यसो त स्थायी कमिटी सदस्यहरुले पनि आजको मुख्य कार्यसूचीमा अध्यादेश नै पर्ने बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अनुकूल अध्यादेश जारी गराएर पार्टीलाई ‘फुट’को सङ्घारबाट झनै अगाडि धकेलेको नेकपा नेताहरु नै बताउँछन् । त्यसो त आजको बैठकले अध्यादेश जारी भएको विषयलाई जोडतोडका साथ उठाउने नेताहरुको भनाइ छ ।

नेकपा स्थायी कमिटी सदस्य तथा नेता देवेन्द्र पौडेलले आजको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश जारी भएको विषयलाई प्राथमिकताका उठाउने बताएका छन् । पूर्व निर्धारित कार्यसूचीसँगै अध्यादेशको विषयलाई पनि केन्द्रमा राखेर आजको बैठकमा कुराहरु आउने नेता पौडेलले बताएका छन् । ‘आज दुवै विषयमाथि छलफल तथा जवाफ खोजिनेछ । तर, खासगरी बैठकमा अध्यादेशलाई नै प्राथमिकतामा राखेर कुराहरु आउनेछन्’, नेता पौडेलले मकालु खबरसँगको कुराकानीको क्रममा भनेका छन्, ‘दुवै अध्यक्ष आउनुहुन्छ अनि छलफल अगाडि बढ्छ ।’

प्रतिक्रिया