साल्ट ट्रेडिङको ५३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण अनुमोदन गरिएको छ ।

कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरिएको छ ।

कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धीमूलक रहेको बताइएको छ ।

कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको बताइयो । उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५\०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

कर्पोरेशनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप कर्पोरेशनको चुक्ता पूंजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश बराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्विकृत गरेको छ ।

विगत वर्षमा कर्पोरेशनले आयात गरेको चिनी मध्ये २५०० मेट्रिक टन चिनी भञ्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भञ्सार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमि एवं भञ्सारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।

लकडाउनमा समेत कर्पोरेशनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रुपमा गर्न बिक्री कक्षहरु मार्फत र डेलिभरि भ्यान मार्फत टोल टोलमा एस टी सिको नारा सहित उपभोक्ताको घरदैलोसम्म सेवा पुर्याउँदै आएको छ । व्यवसायिक मर्यादा कायम राख्दै सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउन प्रतिवद्ध छ ।

आगामी दिनमा कर्पोरेसनले सरकारको नीति अनुसार आयोडिनको कमीका कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन सञ्चालित कण्ठरोग नियन्त्रण कार्यक्रमको उपादेयतालाई दृष्टिगत गर्दै देशका आमनागरिकहरुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्वन गरेको छ ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मलको लागि छुटयाएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेशनलाई प्राप्त हुने रकमबाट युरिया, डिएपी, पोटास मल बाहेक अन्य क्षेत्रका किसानहरुलाई समेत सहज रुपमा थप प्रकारको गैर अनुदानित रासायनिक मलहरु सिङ्गल सुपर फस्फेट, अमोनियम सल्फेट समेत आयात गरि बिक्री वितरण गर्दै आइरहेको छ ।

सरकारको नीतिको अवलम्वन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय वस्तुहरुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न प्रमुख आवश्यकता रहेकाले सोको लागि नवीनतम एवं सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरण तर्फ कर्पोरेशन उन्मुख छ ।

एकीकृत नमूना वस्ती विकास गर्ने हेतुले व्यवस्थित वस्तीको विकास गर्न कर्पोरेशनले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेड मार्फत चन्द्रागिरी नगरपालिकास्थित आफ्नै जग्गामा ८ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरि बिक्री वितरण शुरु गरेको छ ।

प्रतिक्रिया