पूर्वपत्नी लक्षित मनोज गजुरेलको टिप्पणी- ‘अब न्यायका लागि कानुनी रुपमा खुट्टा उचाल्दैछु’

काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले आफूमाथि आधारहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । तीन वर्षअघि डिभोर्स भएपनि पूर्वपत्नीबाट गाली-बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै उनले कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा ५ बुँदे टप्पणी लेख्दै गजुरेलले पूर्वपत्नीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको गुनासो गरे । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अब बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् ।

‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ ‘तर, यो गाली बेइज्जती, अनावश्यक तनावको श्रृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो,’ उनले लेखेका छन्– ‘मेरो चरित्रमाथि खेलवाड भएको ठान्दैछु, सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुङ्गोमा पुगेको छु ।’

साथै उनले मिनाले अंशसहित आफूसँगै बस्न लगेकी छोरी आठ महिनामै आमासँग बस्न नरुचाएर घर आएको पनि सार्वजनिक गरेका छन् । ‘अर्को पक्षले भनेझैं हामीबीच कुनै लेनदेन बाँकी छैन, छोरीको नाममा लगेको अंशबाहेक । तर, सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टीकाटिप्पणी, युट्युबमा उनीहरूका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ,’ उनले भनेका छन् ।

  • यस्तो छ उनको फेसबुक स्टाटस :-

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. सकिएकाे सम्बन्धकाे आधारहिन आराेप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आबश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे  आग्रहपछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद  !

प्रतिक्रिया