राजपुर बम काण्डका मुख्य योजनाकार महताब आलम पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

उनलाई प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते बौद्धिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरियाबाट पक्राउ गरेको थियो। उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस थियो ।

तत्काल प्राप्त प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार पक्राउ परेका आलम चर्चित बम कान्डका मुख्य योजनाकार हुन्।

पक्राउ परेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा महम्मद महताब आलमले आफ्नो दाइ मोहम्मद आफताब आलमको निर्देशनमा २०६४ चैत २७ गते राजपुरमा भएको बम विष्फोटमा घटना लुकाउने उदेश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया