शर्माको बिदाई, न्यौपानेलाई स्वागत

चितवन । खैरहनी नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मालाई बिदाई गरिएको छ भने सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेलाई स्वागत गरिएको छ ।

शर्माको स्याङ्जास्थित पुतलीबजार नगरपालिका सरुवा भएको हो । उनी वि.सं. २०७४ साल कार्तिक ८ गते खैरहनी नगरपालिका हाजिर भएका थिए । २१ वटा कार्यालयमा सेवा गरिसकेका शर्माले यहाँ ३ बर्ष १ महिना २३ दिन बिताए । यहाँ रहदा विना विवाद, विना मनमुटाव काम गर्ने अवसर पाएको भन्दै जनप्रतिनिधिबाट पाएको सहयोग र समन्वयप्रति शर्माले खुशी व्यक्त गरे ।

मध्यबिन्दु नगरपालिकाबाट सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जनप्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर नगरलाई अझ समृद्ध नगर बनाउन सहयोगी भुमिका निर्वाह गर्ने प्रतिबद्वता जनाए । खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले सिंगो टिम विना समृद्ध नगर नबन्ने भन्दै नगरवासीको चाहाना र भावना अनुसार काम गर्नुपर्ने औंल्याए । ‘पद र प्रतिष्ठाकाे लागि काम गर्ने होइन । आ-आफ्नो ठाउँबाट जिम्मेवारीका साथ नगरवासिको भावाना र चाहानालाई सम्बोधन गरेर काम गर्नुपर्छ’, मेयर चौधरीले भने ।

सोही अवसरमा खैरहनी नगरपालिकामा रहदा अवकाश भएकी कार्यालय सहयोगी तलिमाया दराइलाई पनि बिदाइ गरिएको थियो । मेयर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय शिक्षा अधिकारी राजु बानियाँ, प्रशासकीय अधिकृत दामोदर अधिकारिले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया