हस्तकलाको प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गर्न तयार छ : सञ्चारमन्त्री

काठमाडौं । निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवर्द्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताएका हुन् । हस्तकला समृद्धिका सम्भावना भन्ने नाराका साथ नेपाल हस्तकला महासंघले आफ्नो ४८औं बार्षिकोत्सव नवौं हस्तकला दिवस र हस्तकला बर्षको आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारका तर्फबाट के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सोबारेमा सुझाव दिन महासंघलाई आग्रह गरेका छन् । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवर्द्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए । उनले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्न सक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उनको भनाइ छ । सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको पनि उनले गुनासो गरे ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवर्द्धनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा ध्यानाकर्षण गराएका थियो भने महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला बर्षका कार्यक्रमबारे जानकारी गराएका थिए ।

यसैबीच महासंघल हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरिएकाे छ । कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा पुर्याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिएका छन् । वार्षिक कार्यक्रम अन्तर्गत त्रैमासिक बुलेटिन नियमित प्रकाशन गर्ने, जिल्ला तथा बस्तुगत संघलाई सुदृढिकरण गर्ने, समसामयिक विषयबस्तुमा वेभिनार तथा सेमिनार गोष्ठी आयोजना गर्ने, व्यवसायिक अनलाईन मार्केटमा पहुँच वृद्धि गर्दै जाने, महिला उद्यमी मेला मार्फत महिला उद्यमीलाई व्यवसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रवर्द्धन गर्न त्रैमासिकरुपमा क्रेता बिक्रेता भेला आयोजना गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले बताएका छन् ।

त्यसैगरी बस्तुगत विधाको लागि सामूहिक ट्रेडमार्ककाे अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासँग इन्टेरियर डिजाईनिङ समायोजन गर्ने, मूर्त तथा अमूर्त कला सस्कृतिको प्रवर्द्धन गर्ने, डिजाइन तथा डिसप्ले कक्ष तयार गर्ने, कलाकारहरुका परिचयपत्र प्रदान गर्ने, अर्धवार्षिक कला प्रर्दशनी आयोजना गर्ने, विद्यागत हेरिटेज वाक आयोजना गर्ने, बिभिन्न बस्तु विद्याको प्रवर्द्धनको लागि छोटो डकुमेन्ट्ररी तयार गर्ने, प्याकेजिङ र लेवलिङ योजना तयारी गर्ने, बिशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ट इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने, विधागत हस्तकलाको विभिन्न मिडियामार्फत् प्रकाशमा ल्याउने आदि कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया