अख्तियारका पूर्वआयुक्त बस्न्यात विशेष अदालतमा, थुन्ने कि धरौटीमा छाड्ने आदेश हुनसक्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएका हुन् ।

विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बस्न्यातको बयान भइरहेको जानकारी दिएका छन् । बयान सकिएपछि विशेष अदालतले बस्न्यातलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा अहिले बयान चलिरहेको छ । पूर्वआयुक्त बस्न्यातले बालुवाटार स्थित सरकारी जग्गा व्यक्तिलाई विक्रि गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै आइरहेका छन् ।

आयोगले दीप बस्न्यातविरुद्ध अख्तियारको पूर्वप्रमुखका रूपमा नभई त्यसअघि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवका रूपमा रहँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

०७२ चैत १९ मा अख्तियारको आयुक्त नियुक्त भएका बस्न्यात ०७४ जेठ ८ मा प्रमुख आयुक्त बनेका थिए । उनले ०७४ माघ २८ मा अवकाश पाएका थिए । आफ्नै पूर्वप्रमुखविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो ।

ललिता निवास जग्गा प्रकरणमा बस्न्यातसँगै १७५ जना विरूद्ध विषेश अदालतमा मुद्दा दायर भएकाे छ ।

प्रतिक्रिया