पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गरौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने– ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’

ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दै यस्तो बताएका हुन् । ओलीले कोरोनाले कोप(२६ स्थगत गर्न बाध्य पारे पनि हरित धरा निर्माण सम्बन्धी अभियान स्थगन हुन नसक्ने बताए ।

ओलीले नेपाल हरितवृद्धि र हरित पुनरुत्थान प्रवद्र्धनमा लागि परेको बताउँदै विद्युतीय परिवहन र न्यून कार्बन पूर्वाधारमा जोड दिएको दाबी गरेका छन् । नेपालले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएकोसमेत प्रधानमन्त्रीले जानकारी दिए ।

  • यस्तो छ सम्बोधनको पूर्णपाठ :-

महामहिमज्यूहरु,

विशिष्ट महानुभावहरु,

यस सम्मेलनको आयोजना गर्नुभएकोमा म चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दछु । कोभिड–१९ ले हामीलाई कोप–२६ स्थगन गर्न बाध्य तुल्यायो । तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्।

नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ । हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन-शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं ।

हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या-पर्यटनको प्रर्बद्धन गरेका छौं ।

हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएका छौं । विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु ।

नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्य: प्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ । हामी सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मागचित्र निर्माण गर्दैछौं ।

सन् २०३० सम्ममा हामी सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्नेछौं । यी महत्वाकांक्षाहरु लागू गर्नका लागि हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ ।

हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं ।

धन्यवाद ।

प्रतिक्रिया