वीरगञ्जमा एक पुरूषकाे शव फेला, हत्या भएकाे हुन सक्ने प्रहरीकाे आशंका

काठमाडाैं । वीरगञ्जमा एक पुरूषकाे शव फेला परेकाे छ । वीरगञ्ज महानगरपालिका-३२ पारसवा निवासी ४७ वर्षीय सुरेन्द्र साह सोनारको घर नजिकैकाे कुलाेमा शव फेला परेको हाे ।

मंसिर २५ गते साँझ साे घटना घटेकाे हाे । त्यस दिन उनी भाञ्जीको बिहेका लागि उद्योगबाट रकम लिएर घर आउँदै थिए । घाँटी गम्छाले कसेकाे अवस्थामा विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा उनकाे शव फेला परेकाे पर्सा प्रहरीले जनाएकाे छ । आँखामा चाेट र नजिकै फेला परेकाे लठ्ठीमा रगत लतपतिएकाे भेटिएपछि प्रहरीले लुटेराले उनको हत्या गरेको हुन सक्ने आशंका गरेको छ ।

अहिले उनकाे शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले जानकारी दिए । उनका अनुसार मृत शाह बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने मजदुर हुन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ । पाेष्टमार्टम रिपाेर्ट आएपछि घटनाबारे थप जानकारी बाहिर आउनेछ ।

प्रतिक्रिया