पुरुष सांसदबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको महिला सांसदहरुकाे खुलासा

काठमाडाैं । महिला सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन् । लैंगिक न्यायका लागि संघीय सांसदहरुको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरुले कतिपय पुरुष सांसदहरुबाटै हिंसा हुने गरेको बताएका हुन् ।

राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौडेलले संघीय संसदका पुरुष सांसदहरुबाटै महिला हिंसा भएका उजुरीहरु विभिन्न संघ संस्थामा परेको बताइन् । उजुरी परेपछि सांसदहरुले दबाब दिने गरेको त्यस्ता संघ संस्थाका सञ्चालिकाहरुले आफू समक्ष बताउने गरेको उनले खुलाइन् । ‘पीडितहरुलाई राख्ने संघ संस्थाका सञ्चालिकाहरुले अहिलेकै बहालवाला सांसदले पनि महिला हिंसा गरेको उजुरी आएको छ । वा पीडित महिलालाई राखिरहेका छौँ,’ उनले भनिन्- ‘त्यो पीडित महिलालाई किन राख्नुभयो, मेरो विरुद्धमा किन मुद्दा हाल्नुभयो भनेर बहालवाला संघीय सांसदले हामीलाई थर्काई राख्नुभएको छ, भनेर भन्नुहुन्छ । त्यो एकदमै जटिल कुरा हो ।’

महिला सांसदहरुको यो समूहले छाउपडीदेखि सांसदबाट हुने हिंसाको विरुद्धमा एकसाथ आवाज उठाउनुपर्ने पनि सांसद पौडेलले बताइन् । यस्तै कतिपय कुराहरुमा महिलाहरुले आफै हिंसा निम्त्याईरहेको पनि उनले बताइन् ।  बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति समेत रहेकी सत्तारूढ नेकपाकी सांसद पवित्रा निरौला खरेलले निर्वाचनमा उम्मेदवारी दिने विषयमा समेत महिलाहरु राजनीतिक हिंसामा पर्ने गरेको बताइन् । जित्ने ठाउँमा पुरुष उठ्ने र नजित्ने ठाउँमा महिलालाई उठाएर राजनीतिक रुपमा महिला हिंसा हुने गरेको उनकाे भनाइ छ ।

महिला संसदहरु कानून निर्माण गर्ने थलोमा रहँदा समेत हिंसामा पर्दा प्रताडित हुने गरेको उनकाे गुनासाे छ । उनले भनिन्- ‘हामी कानून बनाउनको लागि यो ठाउँमा उभिएका छाैँ, आइपुगेका छौँ । तर आज पनि हामीहरु राजनीतिक हिंसाबाट प्रताडित भइरहेका छौँ । आजपनि महिला भन्ने बित्तिकै सभा सम्मेलन गोष्ठीमा बोलाउनुपर्दा पोर्टफोलियोको हिसाब गरिँदैन । त्यहाँ पुरुषलाई पहिला बोलाउने र महिलालाई चिट दिएपछि मात्रै बोलाउने काम हुन्छ ।’

सांसद निरौलाले निर्वाचन जितेर आएका महिला सांसदहरुलाई पनि विभिन्न मानसिक तनाव दिने गरिएको बताइन् ।

नेकपाकी अर्की सांसद विन्दा पाण्डेले अपराध संहिताको दफा २६ मा जबरजस्ती करणी गरेको अवस्थामा महिलाले आत्मरक्षाका लागि प्रतिकार गर्दा पुरुषको मृत्यु भएमा कसुर नलाग्ने उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताइन् ।  पछिल्लो समय धनकुटामा भएको घटनामा त्यस्तै देखिएको उनकाे भनाइ छ ।

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सरकारले नल्याएका विधेयकहरु महिला सांसदहरु मिलेर गैह्र सरकारी विधेयकका रुपमा संसदमा दर्ता गराउनुपर्ने बताइन् । त्यसका लागि अहिलेको यो समूहले नेतृत्व गर्नुपर्नेमा उनकाे जाेड छ ।  ‘सरकारले ल्याउने विधेयकहरु त छँदैछन् । गैह्र सरकारी विधेयकहरु हामीले दर्ता गरेर हामी महिलाहरुले साँच्चै यो विधेयक आवश्यक छ’, उनले भनिन्- ‘सरकारले यो विधेयक हामीले भनेको जस्तो न्याय दिने खालको विधेयक ल्याएको छैन भने हामीले गैह्र विधेयकका रुपमा सरकारले नल्याएको विधेयक संसदमा दर्ता गराएर त्यसका लागि छलफल गनराउनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विद्या भट्टराईले महिलामाथि हुने हिंसालाई अपराधको रुपमा लिइनुपर्ने बताइन् । तर अहिले हिंसा र अपराधका मुद्दालाई महिला विकासको रुपमा मात्र ब्याख्या गरी कार्यक्रमहरु गरिएकाले हिंसाका घटना भइरहेको उनकाे भनाइ छ । यसमा दलहरुबीच छलफल चलाउनुपर्ने आवश्यकता रहेको पनि उनले प्रष्ट पारिन् ।

जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला कुमारीले नेपाल सरकारका मातहतका समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व नगराउनु पनि महिला विरुद्धको हिंसा भएको बताइन् । संविधानले दिएको व्यवस्था समेत कार्यान्वयनमा नआएको भन्दै महिलाको उपस्थिति बढाउन फेरी संविधान संशोधन गर्नुपर्नेमा उनकाे जाेड छ ।

छलफलमा सांसदहरुले राजनीतिक रुपमा नै हिंसा अन्त्य नभएसम्म तल्लो तहमा हुने हिंसाका गतिविधिमा न्यूनीकरण ल्याउन नसकिने बताएका छन् । ऐन कानून बुझेकाहरुबाटै हिंसा भइरहने समाजमा ऐन कानून नबुझेकाबाट हुने हिंसा न्यूनीकरणका लागि धेरै काम गर्नुपर्ने उनीहरूकाे निष्कर्ष छ ।

प्रतिक्रिया