वाम्बुले राईको मौलिक परिकार अब ‘चासुवा’ रेष्टुराँमा

काठमाडौं/श्याम राई । किरात वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रोष्टुराँ सातदोबाटोमा खुलेको छ । रेष्टुराँको नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार) राईले बिहीबार उद्घाटन गरेका छन् ।

उद्घाटनपछि माइलाले रेष्टुराँमा किरात वाम्बुले राईको जन्मदेखि मृत्युसम्म चाहिने चि–जिर्मा चासुवा रेष्टुराँमा खान पाइने बताए । उनले भने, ‘चासुवा रेष्टुराँले पितापूर्खाले गाउँठाउँमा प्रयोग गर्दै आएका परिकारहरु प्रवर्द्धन गर्न लागेको छ । यहाँ विशेषगरी चि–जिर्मालाई प्रवर्द्धन गरिएको छ । यो पेयपदार्थ होयन । यो वाम्बुले राईहरूको सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण छ ।’

उनका अनुसार जिर्मा बनाउनलाई चार महिनासम्म लाग्ने गर्छ । यो शुद्ध कोदोबाट बनाइन्छ ।

माइलाले विदेशीका ब्राण्डेड जाँडरक्सीलाई बन्द गरेर सांस्कृतिक कार्यमा सेवन गरिएका परिकार, जाँडलाई उचित प्रवर्द्धनतर्फ राज्यले ध्यान दिनुपर्ने पनि बताएका छन् । ‘चासुवा’ नाम पनि ऐतिहासिक संस्कृतिसँग जोडिएको उनको भनाइ छ ।

रेष्टुराँका सञ्चालक विकास राईले अन्य रेष्टुराँभन्दा चासुवामा सांस्कृति पक्षसँग जोडिएका खानपानहरु खान पाइने जानकारी दिए । ‘गाउँघरको सांस्कृतिक कार्यहरुमा प्रयोग गरिने परिकारहरु हामीसँग छ । यहाँ सुँगुरको आन्द्राबाट बन्ने परिकार जुमा पनि पाइन्छ । अब यहाँ मात्रै होइन विस्तारै उपत्यकाका अन्य ठाउँमा विस्तार गर्ने योजना छ ।’ सञ्चालक राईले भनेका छन् ।

प्रतिक्रिया