लालपुर्जा वितरणका लागि २८ पालिकासँग सम्झौता

  • ध्रुवराज खनाल

चितवन । भूमि सम्बन्धि समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि बागमती प्रदेशका २८ वटा स्थानीय तहसँग सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसँग बिहीबार हेटौंडामा सम्झौता गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सोही प्रदेशका २८ वटा पालिकासँग सम्झौता गरेको थियो । बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकासँग यसअघि काठमाडौंमै सम्झौता गरिसकेको थियो ।

भुमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा ती स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवालीले जानकारी दिए । सम्झौता भएका स्थानीय पालिकामा चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका ,कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढि गाउँपालिका, सिन्धुलिको कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, हरिहरपुरगढि गाउँपालिका, गोलन्जोर गाउँपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकासँग आयोगले सम्झौता गरेको हो ।

यसैगरी रामेछापको खांडादेवी गाउँपालिका र सुनापाती गाउँपालिका, धादिङको ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, जुगल गाउँपालिका र मेलम्ची नगरपालिका, काभ्रेको रोशी गाउँपालिका, बेथान्चोक गाउँपालिका, तिमाल गाउँपालिका र नुवाकोटको तार्केश्वर गाउँपालिकासँग सम्झौता गरेको आयोग अध्यक्ष ज्ञवालीले बताए । सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्त प्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा आयोग र स्थानीय तहले गर्ने कामहरु उल्लेख गरिएको छ । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहले सुकुम्बासी, अव्यवस्थित, दलित र भुमिहिनलाई लालपुर्जा दिलाउने कामलाई प्राथमिकता दिन आग्रह गरे । बाटोघाटो निरन्तर बन्ने प्रक्रिया हो मुख्यमन्त्री पौडेलले भने, ‘जनताले अनुभुती हुने गरि काम गर्न लालपुर्जा वितरणको कामले प्राथमिकता पाउनुपर्छ ।’

प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुयाँलले वर्तमान दुई तिहाईको सरकारले लालपुर्जा वितरण नगरे कहिले समस्या समाधान नहुने तर्क गर्दै जसरी पनि यो सरकारले काम गर्ने बताए । बागमती प्रदेशको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले गणतन्त्रको अनुभुती दिलाउन इमानदार भएर लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्नु पर्नेमा जोड दिए ।

भूमि सुधार मन्त्रालयकि सचिव डाक्टर मनिता जोशी वैद्यको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा आयोग सदस्य केशव प्रसाद देवकोटाले प्रदेश नम्बर १ र २ मा आयोगले सम्झौता गरिसकेको बताए । आयोग अध्यक्ष देवि प्रसाद ज्ञवालिले पहिलो चरणमा १८६ वटा पालिकासँग सम्झौता हुने जानकारी दिँदै असारभित्र नतिजा आउने गरि काम गर्न स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे ।

प्रतिक्रिया