विश्वमा कोरोनाले १५ लाख ७५ हजारको ज्यान लियो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ६ करोड ९२ लाख नाघेको छ भने १५ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ९२ लाख २८ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १५ लाख ७५ हजार ६२१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ करोड ७९ लाख ८३ हजार ४८७ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९६ हजार ६९८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ५८ लाख २९ हजार ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २५ हजार ४४१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३ हजार २४३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ७३५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३३७ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ३५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९७ लाख ६२ हजार ३२६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६७ लाख ३० हजार ११८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८४८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७९ हजार ३२ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया