कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको निधन

काठमाडौं । दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

१४ दिनअघि कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको गए राति मृत्यु भएको हो । लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो । उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा विजयी भएका थिए । संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे ।

वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । पूर्व सांसदसमेत रहेका तामाङ घेदुङका केन्द्रीय सल्लाहकार हुन् । उनको निधनले उत्पीडित वर्गको पक्षको लड्ने लडाकु गुमाएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए ।

प्रतिक्रिया