‘१५ दिनपछि पनि सरकारले हल खाेल्न नदिए सो घोषणा गरेर व्यवसाय सुचारू गर्छाैँ’

काठमाडौं । गएकाे चैत्र ११ गतेदेखि बन्द अवस्थामा रहेकाे कलाक्षेत्र अझैसम्म खुलेकाे छैन ।

अधिकांश व्यवसायिक क्षेत्र खुलिसक्दा पनि काेभिड १९ संक्रमणकाे जाेखिमलाई मध्येनजर गर्दै सरकारले कलाक्षेत्रमा लगाएकाे प्रतिबन्ध ९ महिना बितिसक्दा पनि खाेल्ने सुरसार गरेकाे छैन । जसकाे प्रत्यक्ष असर कलाकारमा परेकाे छ ।

केहिदिन अगाडि सरकारले अझै १५ दिन हल तथा रात्रिकालीन व्यवसायहरु नखोल्न आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले अझै पन्ध्र दिनसम्म कडाइका साथ नियम लागु गर्नुपर्ने बताएका थिए । उनकाे याे भनाइबाट आगामी महिनामा हल खुल्ने सम्भावना देखिएको छ । सरकारले पन्ध्र दिनसम्म पर्खिन आग्रह गरेपछि चलचित्रकर्मीहरु पनि त्यहि पन्ध्र दिनको पर्खाइमा रहेका छन् ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान भन्छन्–‘हामी पनि त्यहि पन्ध्र दिनको पर्खाइमा छाैँ । यदि पन्ध्र दिनपछि पनि खुलेन भने हामी आफैँले सो घोषणा गरेर अरु व्यापार व्यवसायहरु जसरी खुले त्यसरी नै खोल्नेछौँ ।’

स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी व्यवसाय सञ्चालन गर्छाैँ भन्दा पनि सरकारले अनुमति नदिएकाे कला क्षेत्रका  व्यवसायीहरूकाे गुनासाे छ । ९ महिना बितिसक्दा पनि काम सुचारू नहुँदा कति कलाकारहरू कला क्षेत्रबाटै पलायन हुने अवस्थामा पुगिसकेका छन् भने कति डिप्रशनकाे शिकार भएका छन् ।

९ महिनादेखि ठप्प रहेका हल सञ्चालकहरु करोडौंको घाटा व्यहोर्न बाध्य भएका छन् भने निर्माताहरू लगानी डुब्ने त्रासमा छन् । प्राविधिकहरू सकसपूर्ण जीवनयापन गर्न बाध्य बनेका छन् । कला क्षेत्र डुबानमा परिसक्दा पनि सरकार भने याे क्षेत्रप्रति उत्तरदायी देखिएकाे छैन । चलचित्र पत्रकार, समिक्षक तथा निर्देशक दीपेन्द्र लामा भन्छन्–‘अब पूरै सुरक्षाका विधि अपनाएर हल खोल्नुपर्छ । भारतमा समेत हलहरु खुलिसके । बिस्तारै नेपाली चलचित्रको बजारलाई पनि पहिलाकै अवस्थामा फर्काउन सबैले पहल गर्नुपर्छ ।’

भीडभाडमा संक्रमण तीव्र रूपमा फैलन डरका कारण पनि सरकारले याे क्षेत्र अझैसम्म बन्द राखेकाे हुन सक्ने उनकाे भनाइ छ।

हल सञ्चालनबारे चलचित्र विकास बोर्ड, चलचित्र संघ, चलचित्र निर्माता संघले सञ्चार मन्त्रालयसँग कुरा गरिरहेको कलंकी हलका सञ्चालक विकास प्रधानले जानकारी दिए । तर लिखित रुपमा कहिले खुल्छ भन्ने निर्णय भइनसकेकाे उनले बताए ।

देशभरि करिब २०० चलचित्र हलहरु सञ्चालनमा रहेका छन् । त्यसमध्येका पनि ४० प्रतिशत मल्टिप्लेक्स र ६० प्रतिशत सिंगल हलहरु रहेका छन् ।

त्यसैगरि चलचित्र क्षेत्र जस्तै मारमा परेका छन् रात्रिकालिन व्यवसायहरु । यस व्यवसायमा पचास हजार भन्दा धेरै मजदुरहरु आबद्ध छन् । नौ महिनासम्म पनि व्यवसाय नखुल्दा केहि दिन अगाडि सयौँ कलाकर्मीहरु सडकमा उत्रिएका थिए । कला क्षेत्रबाट मात्रै काेराेना सर्ने हाे र ? भन्दै उनीहरूले सरकारलाई प्रश्न समेत गरेका थिए ।

पछिल्लाे समय बैंक, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाहरू, सपिङ सेन्टर, रेष्टुरेन्ट नियाल्ने हाे भने काेराेना नभएझैँ भीडभाड देखिन्छ । अत्यावश्यक काम नपरी सरकारले घरबाहिर ननिस्कन भनेपनि बाटाेमा मानिसहरूकाे भीड नै देखिन्छ ।  यस्ताे अवस्थामा सरकारले कला क्षेत्रलाई मात्रै प्रतिबन्ध लगाउँदा कलाकाहरू आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया